यी हुन् यो वर्षका सर्वाधिक धेरै कमाउने चलचित्र, कुनले कति कमाए ?

काठमाडौं । यो वर्ष सर्वाधिक धेरै कमाई गर्ने चलचित्र कुन बन्छ भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन । वर्ष सकिन अझै करिब डेढ महिना बाँकी रहेकाले अहिले नै निष्कर्षमा पुग्ने अवस्था छैन ।

किनकि अझै पनि केही चलचित्र रिलिज हुन बाँकी छ । र, केही चलचित्र प्रदर्शन भइहेकाले अहिलेसम्म धेरै ग्रसकलेक्सन गरेका चलचित्रलाई उछिन्ने सम्भावनालाई नकार्न सकिँदैन ।

धेरैले कम आकेका चलचित्रले यो वर्ष अनपेक्षित ग्रसकलेक्सन गरिरहेका छन् । तर, चल्छन् भन्न आकलन गरिएका चलचित्र असफल भइरहेका बेला अहिले नै यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र यही हो भनेर भन्न सकिन्न ।

हालसम्म बक्सअफिसमा धेरै कमाई गर्ने चलचित्रहरूमा क्रमशः ‘परान’, ‘जेरी अन टप’, ‘आ बाट आमा’, ‘ऊनको स्वीटर’, ‘जारी २’ र ‘बलिदान’ रहेका छन् । ‘जेरी अन टप’ लाई ‘आबाट आमा’ ले उछिनिसके पनि यसको आधिकारिक बक्सअफिस विवरण आउन बाँकी छ।

दीपक आचार्यको निर्देशनमा बनेको ‘परान’ले १७ करोड ८४ लाख ४७ हजार रुपैयाँ ग्रसकलेक्सन गर्दै यसवर्ष हालसम्म सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ। चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, पूजा चन्दलगायत कलाकारहरु मुख्य भूमिकामा छन् ।

सुयोग गुरुङले निर्देशन गरेको ‘जेरी अन टप’ ले १२ करोड २६ लाख ६ हजार रुपैयाँ ग्रसकलेक्सन गरेकाे थियो । यसमा मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङ छन् ।

‘आबाट आमा’ ले गत शनिबार रातिसम्म १२ करोड २३ लाख ३८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । यसको व्यापार अझै बढ्ने निश्चित छ । यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । मुख्य भूमिकामा पल शाह छन् । साथमा विपना थापा, प्रदीप रावत, उषा उप्रेती, साइग्रेस पोखरेल, सिम्रन पन्तलगायत कलाकारहरुको पनि अभिनय छ ।

नवीन चौहानको निर्देशन रहेको ‘ऊनको स्वीटर’ ले ११ करोड ४१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । फिल्ममा मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर छन् ।

उपेन्द्र सुब्बाको ‘जारी २’ले ६ करोड २३ लाख ६९ हजार ग्रसकलेक्सन गरेको छ । यसमा मुख्य भूमिकामा दयाहाङ राई र मिरुना मगर छन् । साथमा विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङलगायत कलाकारहरुको पनि अभिनय छ ।

सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’ले ५ करोड १० लाख ३४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । मुख्य भूमिकामा समीर भट्ट छन् । साथमा सौगात मल्ल, ऋचा शर्मा, कविता राय, अर्पण थापा, हेमन्त बुढाथोकी, सन्तोष सेनलगायत कलाकारहरुको अभिनय छ ।