सलमान खान अब ‘सुपरहीरो’ अवतारमा, राज र डीकेसँग सहकार्य गर्दै
काठमाडौं । बलिउडका ‘भाइजान’ सलमान खान र चर्चित निर्देशक जोडी राज-डीके (राज निदिमोरु र कृष्ण डीके) बीचको पहिलो सहकार्य हुने भएको छ ।
‘द फेमिली म्यान’, ‘फर्जी’ र ‘गन्स एण्ड रोजेस’ जस्ता थ्रिलर र डार्क कमेडीका लागि चिनिने निर्देशक जोडीले सलमानलाई एक विल्कुलै फरक ‘सुपरहीरो’ को भूमिकामा पर्दामा उतार्ने तयारी गरेका छन् ।
बलिउड हंगामाको पछिल्लो रिपोर्ट अनुसार यो फिल्म हलिउड सुपरस्टार विल स्मिथको चर्चित फिल्म ‘ह्यानकक’ को ढाँचामा आधारित हुनेछ ।
फिल्ममा सलमान एक यस्तो सुपरहीरोको भूमिकामा देखिनेछन्, जो वर्षौंदेखि संसारलाई बचाउने काम गर्दा-गर्दा मानसिक र शारीरिक रूपमा थाकिसकेको छ । उनी अब आफ्नो सुपरहीरोको पोशाक र जिम्मेवारीलाई सदाका लागि बिदा गरेर एक सामान्य मानिस जस्तै ‘रिटायरमेन्ट’ जीवन बिताउन चाहन्छन् । तर, कथामा यस्ता नाटकीय मोडहरू आउँछन्, जसले उनलाई फेरि मैदानमा उत्रन बाध्य बनाउँछ । यो फिल्म एक्सनका साथै कमेडी र व्यङ्ग्यले भरिपूर्ण हुने बताइएको छ ।
भिएफएक्स भन्दा कथामा जोड दिन सलमानको आग्रह
प्रायः सुपरहीरो फिल्महरूमा महँगो भिजुअल इफेक्ट्स (भिएफएक्स) को प्रयोग गरिन्छ, तर सलमानले यस पटक फरक सोच राखेका छन् । उनले निर्देशकहरूलाई बजेटलाई ध्यानमा राख्दै धेरै जटिल भिएफएक्सको सट्टा बलियो स्क्रिप्ट र कमेडीमा ध्यान दिन सुझाव दिएका छन् । उनले यो फिल्मलाई ‘मिनिमलिस्ट’ अर्थात् सरल तर प्रभावकारी बनाउन चाहेका छन् ।
फिल्मको छायांकन नोभेम्बर बाट सुरु हुनेछ । यस फिल्मलाई दक्षिण भारतीय फिल्म उद्योगको प्रतिष्ठित ब्यानर ‘मिथ्री मुभी मेकर्स’ र ‘रिल लाइफ इन्टरटेनमेन्ट’ ले संयुक्त रूपमा लगानी गर्दैछन् ।
राज र डीके आफ्नो अनौठो कथावाचन शैलीका लागि परिचित छन् । यी दुईको संगमले बलिउडमा नयाँ किसिमको सिनेमाको सुरुवात गर्ने अपेक्षा गरिएको छ । यो फिल्मभन्दा अगाडि सलमान ‘ब्याटल अफ गलवान’ मा सैनिकको भूमिकामा देखिनेछन् ।



