५०९ जनाले हेरे राजेश हमालको चलचित्र

काठमाडौं । फागुन १५ गतेबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ‘प्रवासी जीवन’को व्यावसायिक नतिजा निकै निराशाजनक देखिएको छ । चलचित्रले बक्सअफिसमा सुखद सुरुवात गर्न सकेन ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार रातिसम्मको बक्सअफिस रिपोर्ट अनुसार प्रदर्शनको ९ दिन (अर्थात् गत शनिबार, फागुन २३ गते) सम्ममा चलचित्रले जम्मा १ लाख ३८ हजार रूपैयाँ मात्र ग्रस कलेक्सन गरेको छ । यस अवधिमा देशभरका हलहरूबाट जम्मा ५०९ वटा टिकट मात्र बिक्री भएको विवरणमा उल्लेख छ । तथ्याङ्कले यो चलचित्रप्रति दर्शकको रुचि अत्यन्तै न्यून रहेको पुष्टि गर्छ।

नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमालको उपस्थिति भए तापनि चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन । सम्भवतः हमालको दशकौँ लामो अभिनय यात्रामा यो नै सबैभन्दा कमजोर व्यापार गर्ने सिनेमा बनेको छ । यसै वर्ष प्रदर्शनमा आएको हमाल अभिनित अर्को चलचित्र ‘नरसिंहा अवतार’ पनि बक्सअफिसमा असफल भएको थियो । एकै वर्ष दुईवटा चलचित्रले व्यवसायिक सफलता नपाउँदा हमालको ‘स्टारडम’ माथि नै प्रश्न उठ्न थालेको छ ।

व्यापार अत्यन्तै कमजोर भएपछि ‘प्रवासी जीवन’ प्रदर्शनको दोस्रो साता नसकिँदै धेरैजसो हलहरूबाट उत्रिसकेको छ । सुरुवाती दिनमै दर्शकको खडेरी परेपछि हल सञ्चालकहरूले अन्य चलचित्रलाई प्राथमिकता दिएका छन् ।

श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको यस चलचित्रमा राजेश हमालका साथै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत र गगन सुवेदी लगायतका कलाकारहरूको अभिनय रहेको छ । वैदेशिक रोजगारी र प्रवासी नेपालीको पीडालाई विषयवस्तु बनाइएको भनिए पनि चलचित्रको फितलो कथावस्तु वा कमजोर प्रचार–प्रसारका कारण यो असफल भएको अनुमान गरिएको छ ।

कुनै समय नेपाली चलचित्र उद्योगमा राजेशको नाम काफी थियो । पोस्टरमा उनको तस्बिर मात्रै हुनु पनि फिल्म ‘सुपरहिट’ हुने ग्यारेन्टी मानिन्थ्यो । तर, समयको चक्रसँगै नेपाली फिल्मको व्याकरण र दर्शकको रुचि बदलिएको छ ।

पछिल्लो समय नेपाली दर्शकहरूले केवल अनुहार हेरेर भन्दा पनि बलियो कथा र गुणस्तरीय निर्माणलाई मात्र साथ दिने गरेको ‘प्रवासी जीवन’ को यो नतिजाले पुनः पुष्टि गरेको छ ।