दुई वर्षमै टुट्यो अभिनेत्री हंसिका मोटवानीको दाम्पत्य जीवन

काठमाडौं । बलिउड तथा दक्षिण भारतीय चलचित्रकी अभिनेत्री हंसिका मोटवानी र उनका पति व्यवसायी सोहेल खतुरियाबीचको वैवाहिक सम्बन्ध औपचारिक रूपमा अन्त्य भएको छ । विगत केही समयदेखि सम्बन्धमा आएको उतारचढावका बीच उनीहरूले कानुनी रूपमा बाटो छुट्ट्याएका हुन् ।

मुम्बईस्थित पारिवारिक अदालतबाट दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको फैसला लिएका हुन् । सन् २०२२ मा निकै धूमधामका साथ वैवाहिक बन्धनमा बाँधिएको यो जोडीको सम्बन्ध दुई वर्ष पनि टिक्न सकेन ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सम्बन्ध विच्छेदको प्रक्रियामा अभिनेत्री हंसिकाले कुनै पनि प्रकारको भरणपोषण वा सम्पत्ति माग नगरेको उल्लेख गरिएको छ । उनीहरूले कुनै विवाद वा आरोप-प्रत्यारोप नगरी सौहार्दपूर्ण रूपमा सम्बन्ध टुंग्याउने निर्णय गरेका थिए । अदालतले दुवै पक्षको मञ्जुरी र समझदारीलाई मध्यनजर गर्दै डिभोर्सको निवेदनलाई सदर गरेको हो ।

हंसिका र सोहेलले सन् २०२२ को डिसेम्बरमा विवाह गरेका थिए । सोहेल हंसिकाका लामो समयदेखिका साथी र बिजनेस पार्टनर समेत थिए।

विवाहको केही महिनापछि नै उनीहरूबीच खटपट सुरु भएको चर्चा फिल्मी वृत्तमा चलेको थियो । समाचारअनुसार सन् २०२४ को सुरुवातदेखि नै उनीहरू छुट्टाछुट्टै बस्न थालेका थिए । आपसी मतभेद सुल्झाउन नसकेपछि उनीहरूले कानुनी रूपमा अलग हुने निर्णय लिएका हुन् ।

डिभोर्सको प्रक्रिया सकिएपछि हंसिकाले सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै आफ्नो जीवनको यो अध्याय समाप्त भएको संकेत गरेकी छन् । यद्यपि, दुवै पक्षले सम्बन्ध विच्छेदको ठोस कारणबारे हालसम्म मुख खोलेका छैनन् । उनीहरूले व्यक्तिगत गोपनीयताको सम्मान गरिदिन समेत आग्रह गरेका छन् ।

बाल कलाकारको रूपमा ‘शाका लाका बुम बुम’ र ‘कोई मिल गया’ बाट चर्चामा आएकी हंसिकाले दक्षिण भारतीय फिल्म उद्योगमा आफ्नो बलियो पहिचान बनाएकी छन् । व्यक्तिगत जीवनमा आएको यो मोडपछि हंसिका अब पुन: आफ्नो अभिनय करियरमा केन्द्रित हुने बताइएको छ ।