‘लालीबजार’को मेरुदण्ड बन्दै ‘मायालाई के दिऊँ म बैना’, युट्युबदेखि टिकटकसम्म राज

‘मायालाई के दिऊँ म बैना, फूल दिऊँ कि फूलबुट्टे रुमाल…’
अहिले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटक खोल्नेबित्तिकै यो हरफ नसुन्ने विरलै होलान् । जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाली बजार’मा समावेश यो गीत यस सिनेमाकै प्रचारका लागि एउटा बलियो खम्बा बनिरहेको छ ।

छोटो समयमै यो गीत युट्युबमा ‘मिलियन क्लब’मा प्रवेश गरिसकेको छ । सार्वजनिक भएको करिब दुई सातामा ५३ लाख १७ हजार २७० भ्युज समाचार तयार पार्दासम्म पाएको छ ।

यो गीतको सफलताको सबैभन्दा ठूलो श्रेय अडियोसँगै यसको भिडियो प्रस्तुतिलाई पनि जान्छ । परिपक्व अभिनेत्री र चुलबुले बालकलाकारको जुगलबन्दीले भिडियोलाई आकर्षक बनाउँदा दर्शकले त्यसलाई सहजै स्वीकार गरिदिएका छन् ।

विशेषगरी अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको जोसिलो नृत्यले यो गीत हरेक उमेर समूहका दर्शकको रोजाइमा परेको छ ।

प्रायः सहरिया र ग्ल्यामरस भूमिकामा देखिँदै आएकी अभिनेत्री स्वस्तिमा खड्काले यसपटक आफूलाई पूर्ण रूपमा गाउँले युवतीको अवतारमा ढालेकी छिन् । नाकमा बुलाकी, रातो बुट्टे चोली र गुन्यु–चोलीमा सजिएकी स्वस्तिमाको लुक्स र जोसिलो नृत्यलाई दर्शकले रुचाएका छन् ।

‘मायालाई के दिऊँ म बैना…’ भन्ने हरफमा अहिलेसम्म हजारौँको संख्यामा ‘रिल्स’ र टिकटक भिडियोहरू बनिसकेका छन् । सानासाना नानीबाबुहरूदेखि वृद्धवृद्धासम्मले स्वस्तिमा र समाइराको ‘सिग्नेचर स्टेप’ पछ्याउँदै भिडियो बनाइरहेका छन् ।

गीतमा रहेको मौलिक शब्द र आधुनिक संगीतको मिश्रणले यो गीत डान्सिङ प्याटर्नमा तयार भएको छ ।
मायाको ‘बैना’ (चिह्न) स्वरूप फूल वा रुमाल दिने कुराले पुरानो मौलिक प्रेम शैलीलाई झल्काउँछ, जुन अहिलेका युवाहरूका लागि पनि रोमान्टिक लाग्न सक्छ ।

बालकलाकार समाइरालाई केन्द्रमा राखेर नृत्य गराउँदा यसले बालबालिका र अभिभावक दुवै उमेर समूहलाई एकैसाथ आकर्षित गर्न सफल भएको छ ।

खेम सेन्चुरी र दीपिका बयाम्बूको स्वर रहेको गीतको भिडियो प्रदीप लामाले कोरियोग्राफी गरेका छन् । गीतमा खेम सेन्चुरीकै संगीत रहेको छ भने शब्द रचना रमेश बिजीको छ ।

यो गीतले चलचित्र ‘लाली बजार’को हाइप बढाएको छ । यसले निर्माण पक्षलाई निकै उत्साहित बनाएको छ ।

षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका छन् ।

चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

चलचित्रमा अभिनेत्री खड्का र बालकलाकार समाइरासँगै रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ ।

टिकटकमा यो गीतको लोकप्रियताले चलचित्रको ओपनिङ व्यवसायमा ठूलो मद्दत पुग्ने विश्लेषण भइरहेको छ । यस गीतको लोकप्रियताले चलचित्रलाई बक्स अफिसमा कसरी उतार्छ, त्यो भने हेर्न बाँकी नै छ ।