फेरि केमियोमा मात्रै त हैनन् नि आकाश ?

काठमाडौं । चकलेटी अभिनेता आकाश श्रेष्ठ पछिल्लो दुई वर्षदेखि ठूलो पर्दामा ‘मुख्य भूमिका’को खडेरीबाट गुज्रिरहेका छन् । कुनै समय वर्षमा आधा दर्जन फिल्म हातमा हुने आकाशका लागि पछिल्ला वर्षहरू सुखद रहेनन् । चलचित्र ‘हिँड्दा हिँड्दै’ पछि पर्दामा उनको प्रभावशाली उपस्थिति देखिएको छैन । यसबीचमा उनले ‘बगान’ र ‘हर्ष’ जस्ता चलचित्रमा काम त गरे, तर ती केवल ‘केमियो’ (अतिथि भूमिका)मा मात्र सीमित रहे ।

धमाधम म्यूजिक भिडियो गरिरहेका आकाशलाई सिनेमाकाे पर्दामा फेरि ‘लिड हिराे’को रूपमा हेर्न चाहने उनका फ्यानहरूका लागि एउटा नयाँ आशा भने पलाएको छ । उनले हालै ब्लकबस्टर चलचित्रको सिक्वेल ‘आ बाट आमा २’ साइन गरेका छन् ।

आकाशका लागि यो चलचित्र ‘अग्निपरीक्षा’ जस्तै बनेको छ । लामो समय मुख्य भूमिकाबाट ओझेलिएका उनले यसपटक भने केमियो होइन, ‘महत्वपूर्ण’ भूमिका पाएको दाबी निर्माण पक्षले गरेको छ । सोमबार निर्माण टिम र आकाशबीच औपचारिक रूपमा कागजी सम्झौता भएसँगै उनी यो प्रोजेक्टमा भित्रिएका हुन् ।

यसअघि निर्देशक रुपेश तामाङको एक्सन चलचित्र ‘एक्का तीन’ मार्फत आकाशले ‘रफ एण्ड टफ’ अवतारमा कमब्याक गर्ने चर्चा थियो । अभिनेत्री पूजा शर्मासँग जोडी बाँधिने भनिएको सो फिल्मको निर्माण प्रक्रिया सुस्ताएपछि र निर्माण पक्ष मौन बसेपछि आकाशले आफ्नो भविष्य ‘आ बाट आमा २’ मा सुरक्षित देख्न पुगेका हुन् ।

निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने यो चलचित्रमा आकाशले पहिलो श्रृङखला दुई कलाकार पल शाह र विपना थापासँग स्क्रिन सेयर गर्नेछन् । पहिलो भागमा आमा-छोराको भावनात्मक सम्बन्धलाई दर्शकले निकै रुचाएका थिए ।

निर्देशक पन्त भन्छन्, ‘फिल्मको कथावस्तु र एउटा विशेष पात्रको गम्भीरतालाई हेरेर नै हामीले आकाशलाई छनोट गरेका हौं । उनको भूमिकाले फिल्ममा नयाँ ट्विस्ट ल्याउनेछ ।’ यद्यपि, आकाशको भूमिका पल शाहको तुलनामा कत्तिको लामो र शक्तिशाली हुन्छ भन्नेबारे निर्माण पक्षले अझै विस्तृत खुलाएको छैन ।

‘आ बाट आमा’ को पहिलो भागले नेपाली बक्स अफिसमा १३ करोडभन्दा बढीको व्यापार गर्दै यस वर्षकाे दाेस्राे ‘ब्लकबस्टर’ सिनेमा भएको छ । सोही फिल्मको सिक्वेलमा जोडिनु आकाशका लागि करिअरको नयाँ मोड हुनसक्छ । यदि यो चलचित्रमा पनि उनको भूमिका सानो वा केमियोमा मात्र सीमित भयो भने उनलाई ‘सोलो लिड एक्टर’ को रूपमा पुनरागमन गर्न थप कठिन हुने निश्चित छ ।

आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘आ बाट आमा २’को छायांकन आगामी वैशाखदेखि सुरु हुनेछ । निर्माण टिमले फिल्मलाई आगामी वर्षको दशैं मा प्रदर्शन गर्ने लक्ष्य लिएको छ ।

के ‘आ बाट आमा २’ ले आकाश श्रेष्ठलाई फेरि सफलताको शिखरमा पुर्‍याउला ? वा उनी फेरि पनि ‘सपोटिङ क्यारेक्टर’ मै सीमित होलान् ? यसको उत्तरका लागि भने फिल्मको प्रदर्शन नै कुर्नुपर्नेछ ।