‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल

काठमाडौं । वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ पोस्टरमा स्वस्तिमा खड्कासँगै डेब्यु अभिनेता विशाल देवकोटा देखिएका छन् । निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा स्वस्तिमा र विशाललाई जोडीको रुपमा प्रस्तुत गरेको छ ।

नेपालको रंगमञ्चमा अभिनेतासँगै निर्देशकको रुपमा चिनिएका विशाल ‘लालीबजार’मा अडिसनमार्फत छनोट भएका थिएँ । उनको अभिनय कौशलताकै कारण डेब्यु फिल्ममै स्वस्तिमाको जोडी बन्ने अवसर प्राप्त गरेको निर्माण कम्पनि षट्कोण आट्र्सले जनाएको छ ।

सानैदेखि कलाकार बन्ने सपना बोकेका विशाल नाटकमार्फत अभिनयलाई नजिकबाट बुझ्दै अघि बढेका थिए । रंगमञ्चमा काम गर्दै अनुभव बटुलेका देवकोटाले त्यसैको निरन्तरतास्वरूप फिल्म क्षेत्रमा प्रवेश गरेका हुन् । विशाललाई पछिल्लो समय उदयीमान कलाकारको रुपमा हेरिएको छ । उनले नाटकमा अभिनय गर्दा देखाएको कलाकारिताको राम्रै चर्चा हुन् थालेको छ ।

उनका अनुसार कान्तिपुर थिएटरमा मञ्चन भएको ‘मीरा’ नाटकमा अभिनय गर्दा नै फिल्म ‘लालीबजार’को टिमको ध्यान उनीतर्फ खिचिएको थियो । त्यसपछि अडिसनका विभिन्न चरण पार गर्दै उनी फिल्ममा छनोट भएका थिए । यसरी रंगमञ्चको अनुभवले उनलाई फिल्ममा प्रवेश गर्ने ढोका खोलेको उनले बताएका छन् ।

बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।