अल्लू अर्जुनको जन्मदिनमा ‘राका’को फर्स्टलुक, ४ सय करोडको लगानी बन्दै
काठमाडौं । दक्षिण भारतीय फिल्मका ‘आइकन स्टार’ अल्लू अर्जुनको ४४औं जन्मदिनको विशेष अवसर पारेर उनको आगामी नयाँ फिल्मको पहिलो झलक सार्वजनिक गरिएको छ ।
ब्लकबस्टर फिल्म ‘जवान’ का निर्देशक एटलीसँगको सहकार्यमा बन्न लागेको यस फिल्मको नाम ‘राका’ जुराउँदै निर्माण टिमले बुधबार अल्लू अर्जुनको अवसरमा फर्स्टलुक पोस्टर सार्वजनिक गरेको हो ।
यसअघि अस्थायी रूपमा ‘एए २६’ भनिएको यो फिल्मको आधिकारिक नाम र पहिलो झलक सार्वजनिक भएसँगै उनका फ्यानहरूमा ठूलो उत्साह छाएको छ ।
सार्वजनिक गरिएको पोस्टरमा उनलाई चिन्नै नसकिने गरी परिवर्तन गरिएको छ । पोस्टरमा उनको लुक्स निकै आक्रामक र रहस्यमय छ । जंगली भालुको जस्तो देखिने लामा नङ र रौँले ढाकिएको पञ्जाले उनले आफ्नो आधा अनुहार छोपेका छन् ।
अव्यवस्थित कपाल र उनको आँखामा देखिएको उग्रताले फिल्ममा उनी कुनै असाधारण र शक्तिशाली पात्रको भूमिकामा देखिने संकेत गर्दछ ।
यो पोस्टर सार्वजनिक हुनेबित्तिकै भाइरल बनेको छ र फ्यानहरूले यसलाई ‘पुष्पा’ भन्दा पनि ठूलो धमाका हुने अनुमान गरेका छन् ।
‘राका’ को अर्को सबैभन्दा ठूलो आकर्षण यसको स्टार कास्ट हो । फिल्ममा पहिलो पटक बलिउडकी अभिनेत्री दीपिका पादुकोण र अल्लू अर्जुनको जोडी बाँधिने भएको छ ।
यसका साथै फिल्ममा ठूलो संख्यामा नाम चलेका कलाकारहरूको अभिनय रहनेछ । जसमा रश्मिका मन्दना, मृणाल ठाकुर, जान्हवी कपूर, राम्या कृष्णन र चर्चित हास्य कलाकार योगी बाबु रहने पक्का भएको छ ।
निर्माण पक्षका अनुसार ‘राका’ महँगो फिल्ममध्ये एक हुनेछ । यसको निर्माण लागत भारु ४ सय करोड अनुमान गरिएको छ । फिल्मको ठूलो हिस्सा भिजुअल इफेक्ट्स (भिएफएक्स) मा खर्च गरिनेछ, जसका लागि निर्माताले अन्तर्राष्ट्रिय स्तरको प्रविधि प्रयोग गर्ने योजना बनाएका छन् ।
निर्देशक एटलीले ‘राका’ लाई आफ्नो करियरकै सबैभन्दा महत्त्वाकांक्षी प्रोजेक्ट बताएका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘यो प्रोजेक्ट मेरो दिलसँग निकै नजिक छ । ‘राका’ को अवधारणा मसँग करिब १८ वर्षदेखि थियो । यो केवल एउटा फिल्म मात्र होइन, मेरो १८ वर्षको सपना हो ।’
एटलीका अनुसार यो फिल्मले भारतीय सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान दिलाउनेछ । शाहरुख खानसँग ‘जवान’ जस्तो ऐतिहासिक सफलता दिएपछि एटली र अल्लू अर्जुनको यो सहकार्यले फेरि एकपटक बक्स अफिसमा रेकर्ड तोड्ने अपेक्षा गरिएको छ ।
एक ‘साइन्स-फिक्सन एक्शन थ्रिलर’ हुने बताइएको यो फिल्मको सबैभन्दा ठूलो आकर्षण अल्लु अर्जुनको ‘डबल रोल’ हुनेछ । यस फिल्मलाई २०२७ को सुरुतिर रिलिज गरिने सम्भावना रहेको छ ।

