अपिलिङ ‘लालीबजार’को ट्रेलरमा आमाछोरीको कथा
काठमाडौं । चलचित्र ‘लालीबजार’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको उक्त फिल्मको ट्रेलर आमा र छोरीबीचको कथा देखाइएको छ । ट्रेलरले सिनेमा हेर्न दर्शकलाई अपिल गरेको छ ।
बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का प्रस्तुत भएकी छिन् । सार्वजनिक ट्रेलरमा स्वस्तिमासँगै रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटा फिचर्ड छन् ।
अभिनेत्री खड्काले फिल्म ‘लालीबजार’ आमाको सङ्घर्ष र सफलताको कथा रहेको बताइन् । उनले भनिन्, “लालीबजार मेरो लागि निकै स्पेसल फिल्म बनेको छ । मैले गरेका फिल्महरूमा धेरै समयमा सम्झिने र आगामी धेरै वर्षसम्म कुरा हुने फिल्ममा यो पर्ने छ । म यो कथालाई लिड गर्न पाउँदा वा आमाको कथा प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छु ।”
अभिनेता रवीन्द्र सिंह बानियाँले फिल्मले एउटा महिलाको जीवनका विभिन्न आयामलाई समेटेको बताए । “हामीले एउटा सेटअपमा फिल्मको कथा व्यक्त गरेका छौँ, तर यो आमा र छोरीको कथा हो । बाध्यता, विश्वस्ता, संघर्ष र सफलतालाई यसमा देखाइएको छ,” उनले भने ।
निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।
“लालीबजारको कथा निर्देशक थापाले नै ल्याउनुभएको हो, त्यसकारण यसलाई उहाँले नै नयाँ गर्नसक्नु हुन्छ भन्ने लगेर हामीले निर्देशनको प्रस्ताव गरेका हौँ । अहिले हामीले सही निर्णय गरेका थियौँ भन्ने लागेको छ, फिल्ममा निर्देशकको दिमागसँगै उहाँको देखाई र बुझाइ मिसिएको छ”, कार्यकारी निर्माता प्रदीप भट्टराईले भने ।
“मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो बादी समुदायको छन् । फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो फिल्मले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु”, निर्देशक यम थापाले भने ।

