‘ककाकिकी’को रिलिज डेट तय, भदौ १९ बाट प्रदर्शन

काठमाडौं । टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको चलचित्र ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ ।

निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति भदौ १९ तोकेको छ । पोस्टरमा फिल्मका मुख्य चार कलाकारको लुक्स समेत सार्वजनिक गरिएको छ । जसमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी क्यारेक्टर लुक्समा देखिएका छन् ।

पोस्टरमा देखिएको कलाकारहरूको अनौठो अवतारले फिल्मको कथालाई सस्पेन्स बनाएको छ ।

चलचित्रलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ ।