स्वस्तिमाले भनिन्– अभिनय सुरु गरेको १० वर्षपछि अडिसन दिएर ‘लालिबजार’मा काम गरेँ

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र ‘लालिबजार’मा आफूले अडिसन दिएर काम गरेको बताएकी छन् ।

चलचित्र उद्योगमा अभिनेत्रीका रूपमा काम गरेको १० वर्षपछि आफूले अडिसन दिएर काम गरेको बताएकी छन् । यसमा उनले लुक टेस्ट गरेर काम गरेकी थिइन् ।

“षट्कोण आट्र्सले फिल्म निर्माण गर्ने भएकै कारण अभिनय यात्राको दश वर्ष पुरा भएपछि मैले ‘लुक टेस्ट’का लागि अडिसन दिएर फिल्ममा छनोट भएकी हुँ,” उनले भनिन् ।

षट्कोण आर्ट्सले हालसम्म ‘टल्क जंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’, ‘महाजात्रा’ चलचित्र बनाएको छ ।

“मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्म ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । यो फिल्ममा कलाकार बन्न पाएकोमा मैले आफूलाई ‘लक्की’ मान्छु,” स्वस्तिमाले भनिन् ।

यम थापाले निर्देशन गरेको चलचित्र ‘लालीबजार’ वैशाख १८ मा प्रदर्शन हुँदैछ ।

“यो आमा र छोरीको कथा हो, तर मैले यसमा बादी महिलाको भूमिका निर्वाह गरेकी छु । आफ्नो पात्रलाई तयार गर्न म आफैँ बर्दिया पुगेर अनुसन्धान गरेकी थिएँ,” उनले भनिन्, “निकै उमेर हुनुभएका आमाहरुलाई भेटेर कुराकानी गरेकी थिएँ । मैले देखेको र बुझेको भन्दा भिन्नै संसारमा एउटा ‘मधुवाला’ पात्र भएर बाच्न पाएँ । ‘लालीबजार’ मेरा लागि आगामी धेरै समयसम्म सम्झिने फिल्म बनेको छ ।”

‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरीलगायतको अभिनय रहेको छ ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।