‘मालती मंगले’को ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ ।

आगामी वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको निर्माण पक्षले सोमबार ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर दर्शकमाझ सार्वननिक गरेको हो ।

चलचित्रको ट्रेलरले प्रेम र वैवाहिक जीवनको उतारचढावलाई मुख्य विषय बनाएको छ । एउटा सुखी परिवार कसरी सामाजिक दबाब, पितृसत्तात्मक सोच र इज्जतको गलत परिभाषाका कारण विखण्डनको संघारमा पुग्छ भन्ने विषयलाई प्रस्तुत गरेको छ ।

उक्त ट्रेलरमा मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम कथा, उनीहरूको सम्बन्धमा आउने दरार र पारिवारिक खटपटलाई देखाइएको छ । यसैगरी, अभिनेता मेक्सम गौडेललाई हरि नामक नेगेटिभ चरित्रमा प्रकट भएका छन् ।

ट्रेलरमा साथीभाइबीचको सुमधुर सम्बन्ध र त्यसमा आउने उतारचढावलाई पनि स्थान दिइएको छ । छोरा र छोरीबीच समाजले गर्ने विभेदकारी मानसिकतालाई उठान गरेको चलचित्रको ट्रेलरमा समावेश ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’ भन्ने संवादले समाजमा बस्दा छरपस्ट रूपमा नै ‘इज्जत’ देखाउनुपर्ने बाध्यतालाई प्रस्ट पारेको छ ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा स्वयं निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।

चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

सागर ज्ञवाली कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्माताका रूपमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ छन् ।

यस चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ ।

आरआर फिल्म्सले यो चलचित्रलाई नेपालभर वितरण गर्ने जिम्मा लिएको छ ।