‘लालीबजार’ विवाद: सेन्सर बोर्डको सक्कल फाइलसहित आज सुनुवाइ हुँदै, खुल्ला त प्रदर्शनको बाटो ?
काठमाडौं । बादी समुदायको सङ्घर्षको कथामा आधारित भनिएको चलचित्र ‘लालीबजार’को प्रदर्शनमा लागेको रोक र यसको कानुनी विवादमाथि आज (बुधबार) उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।
मंगलबार भएको बहसपछि अदालतले चलचित्र जाँच समिति (सेन्सर बोर्ड) सँग सेन्सरसम्बन्धी सक्कल फाइल माग गरेपछि आजका लागि पेशी तोकिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश द्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्रको सेन्सर प्रक्रिया र त्यसमा भएका संवाद तथा दृश्यहरूको अध्ययन गर्न सक्कल कपी पेस गर्न आदेश दिएको थियो ।
मंगलबार जारी गरेको आदेशमा भनिएको छ, “विपक्षी मध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र जाँच समिति सिंहदरवार काठमाडौँबाट चलचित्र ‘लालीबजार’ लाई सार्वजनिक प्रदर्शनी गर्न अनुमति दिने गरी भएको निर्णयसहितको सक्कल फाइल इजलास समक्ष देखाई फिर्ता लैजाने गरी अनिवार्य रूपमा झिकाई प्रस्तुत निवेदन अन्तरिम आदेश छलफलका लागि पेश गर्नु ।”
यसको अर्थ सेन्सर बोर्डले कुन आधारमा यो चलचित्रलाई प्रदर्शनको अनुमति (सेन्सर सर्टिफिकेट) दिएको थियो, त्यसको सम्पूर्ण सक्कल कागजात आज अदालतमा पेस गर्नुपर्नेछ ।
चलचित्रको प्रदर्शनमा लागेको अल्पकालीन अन्तरिम आदेश आजको सुनुवाइपछि निरन्तर रहने वा न रहने भन्नेबारे टुङ्गो लाग्ने छ ।
गत वैशाख १४ गते ‘लालीबजार’ विरुद्ध उच्च अदालतमा रोशनी नेपाली वादीले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् ।
चलचित्रले बादी समुदायको पीडा र संवेदनामाथि व्यापार गरेको, समुदायको नैतिकताको हत्या गर्ने खालका दृश्य समावेश गरेको र केही संवादहरूले समुदायलाई होच्याएको उनको जिकिर छ ।
रिट दायर गर्नुअघि रोशनी नेपालीले पत्रकार सम्मेलन गर्दै भनेकी थिइन्, “फिल्मले बादी समुदायको घाउमा नुनचुक छर्कने काम गरेको छ । समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी बनाइएको यो फिल्म प्रदर्शनमा आउनु हुँदैन ।”
रोशनीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालतले वैशाख १५ गते फिल्मको प्रदर्शन तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको उक्त आदेशपछि वैशाख १८ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुने तयारीमा रहेको ‘लालीबजार’ को रिलिज अन्तिम समयमा आएर रोकिएको थियो । यसबाट निर्माण पक्षलाई ठुलो आर्थिक क्षति पुगेको दाबी गरिएको छ ।
अदालतले फिल्मको प्रदर्शनमा रोक लगाएपछि चलचित्रकर्मीहरू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएका थिए । गत बुधबार काठमाडौँको माइतीघर मण्डलामा फिल्मकर्मीहरूले मुख र हातमा कालो पट्टी बाँधेर मौन प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनमा उनीहरूले सेन्सर बोर्डले पास गरिसकेको फिल्मलाई अदालतले रोक्नु ‘अभिव्यक्ति स्वतन्त्रता’ माथिको प्रहार भएको तर्क गरेका थिए ।
अदालतले आज सेन्सर बोर्डको सक्कल फाइल अध्ययन गरेपछि दुवै पक्षका वकिलहरूको बहस सुन्नेछ । यदि अदालतले फिल्ममा समावेश दृश्य र संवादले कुनै समुदायको मानमर्दन नगरेको ठहर गरेमा फिल्म प्रदर्शनको बाटो खुल्नेछ । अन्यथा, विवादास्पद दृश्यहरू हटाउन आदेश दिने वा प्रदर्शनमा रोक कायमै राख्ने सम्भावना रहन्छ ।




