‘लालीबजार’ प्रिमियर: कसैले १० नम्बर दिए, कोही आमाको सङ्घर्ष सम्झेर रोए

काठमाडौं । बिहीबार साँझ प्रदर्शनको पूर्वसन्ध्यामा आयोजना गरिएको चलचित्र ‘लालीबजार’ को प्रिमियर शोमा सिनेमा हेरेर निस्कँदै गर्दा धेरैका आँखा राता थिए । कोही बादी समुदायको पीडाले स्तब्ध थिए त कोही आमा-छोरीको भावनात्मक सम्बन्धले भावुक ।

प्रिमियर शोमा सहभागी फिल्मकर्मी, राजनीतिज्ञ र अभियन्ताहरूले ‘लालीबजार’लाई केवल मनोरञ्जन मात्र नभई एउटा ‘शक्तिशाली दस्ताबेज’ को रूपमा चित्रण गरेका छन् ।

प्रिमियरमा सबैभन्दा भावुक दृश्य तब देखियो जब बादी समुदायकी अभियन्ता देवीसरा बादीले फिल्मलाई आफ्नो जीवनसँग तुलना गरिन् । उनले भनिन्, “फिल्म हेरिरहँदा मैले आफ्नै आमालाई देखेँ । मेरो आमाले मलाई कसरी दुःख गरेर पढाउनुभयो, त्यो सङ्घर्ष यो फिल्ममा छ । यो हरेक समुदायका महिला र आमा-छोरीले गर्वका साथ हेर्नैपर्ने फिल्म बनेको छ ।”

फिल्मले उठाएको सामाजिक मुद्दामा नेता रवीन्द्र मिश्रले गम्भीर टिप्पणी गरे । उनले फिल्मलाई ‘कलात्मक विद्रोह’ भन्दै विवादको कुनै तुक नरहेको बताए । “समाजको एउटा क्रुर कालखण्डको चित्रण यसमा छ । हलबाट निस्किँदा यो फिल्मले दर्शकलाई केही न केही सन्देश दिएर पठाउँछ,” मिश्रले भने ।

त्यस्तै, पूर्व मन्त्री सुमना श्रेष्ठले निर्माण पक्षको परिपक्वताको प्रशंसा गरिन् । उनले भनिन्, “हाम्रो समाजका राम्रा र नराम्रा पक्षलाई फिल्मले स्पष्ट ऐना देखाइदिएको छ । सामाजिक विभेद विरुद्ध कसरी उभिनुपर्छ भन्ने कुरा फिल्मले सरल शैलीमा बुझाएको छ ।”

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अभिनेत्री स्वस्तिमा खड्काको अभिनयलाई फिल्मको ‘प्राण’ मानेका छन् । “यो फिल्मले स्वस्तिमाको उचाई झन् बढाएको छ । हाम्रो भाषामा भन्नुपर्दा फिल्म ‘बबाल’ चल्छ,” उनले ठोकुवा गरे ।

निर्देशक निश्चल बस्नेतले पनि फिल्म आफ्नो अपेक्षाभन्दा माथि रहेको बताए । उनले भने, “यसको चर्चाले मेरो अपेक्षा बढाएको थियो, तर फिल्म त्योभन्दा पनि राम्रो लाग्यो । यसको सन्देश धेरैभन्दा धेरै दर्शकसम्म पुग्नुपर्छ ।”

नेपाली फिल्म क्षेत्रका अभिभावक मदनकृष्ण श्रेष्ठले त फिल्मलाई पूर्णाङ्क नै दिए । उनले भने, “यो फिल्म सबै पक्षमा अब्बल छ, १० मा १० नम्बर नै डिजर्भ गर्छ । निर्माण पक्षले यस्तो विषय उठाएर साहस देखाएको छ ।”

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि शब्दमा प्रशंसा गर्न नसकिने भन्दै ‘लालीबजार’ लाई आफ्नो मनपर्ने फिल्मको सूचीमा राखे । प्रिमियरमा अभिनेता अनुपबिक्रम शाही, गौरी मल्ल, करिश्मा मानन्धर लगायतका कलाकारहरूले पनि फिल्मको खुलेर तारिफ गरे ।

निर्देशक यम थापा प्राप्त प्रतिक्रियाबाट निकै उत्साहित देखिएका छन् । उनले भने, “फिल्मकर्मी साथीहरूले जुन प्रतिक्रिया दिनुभयो, त्यसले मलाई ऊर्जा दिएको छ । अब बाँकी फैसला दर्शकको हातमा छ ।”

षट्कोण आर्ट्सको प्रस्तुति रहेको यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा लगायतको मुख्य भूमिका छ । फिल्मको पटकथा यम थापा र प्रदीप भट्टराईले तयार पारेका हुन् । सामाजिक विभेद र मानवीय संवेदनाको कथा बोकेको यो फिल्म आजैबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ ।