‘मालती मंगले’मा समावेश ‘चुड्का भजन’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘मालती मंगले’को निर्माण पक्षले नयाँ सांगीतिक कोसेली सार्वजनिक गरेको छ । निर्माण टोलीले चलचित्रमा समावेश ‘चुड्का भजन’ बोलको भिडियो गीत दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक ‘चुड्का भजन’मा पुरुषोत्तम ढुंगेलको शब्द रचना रहेको छ भने किरण भुसाल लगायतको स्वर सुन्न सकिन्छ ।

किरण भुसालकै संगीत निर्देशन रहेको यस गीतमा परम्परागत चुड्का लयको आकर्षक प्रयोग गरिएको छ ।

गीतको तालबाजा (पर्कसन)मा किरण भुसाल र रायपुर समुदायले साथ दिएका छन् भने मादल, मुजुरा र खैँजडीमा सन्देश पौडेलको उत्कृष्ट प्रस्तुति छ ।

गोविन्द पीके आँशु, अच्युत कडेल, सञ्जय (सपुत मोक्तान), राहुल मोक्तान, दिनेश लामा, ह्वाञ्ची लामा र मोहनको अतिरिक्त स्वर रहेको यस भजनलाई रिदम कँडेलले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

विजय बराल र वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका छन् । निर्देशक पाण्डेय स्वयंको कथा रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन् ।