‘लालीबजार’ टिम दर्शक भेट्न नेपालगञ्जमा

काठमाडौं । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत र नेपालगञ्ज पुगेको छ ।

अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई लगायतको टिमले सुर्खेतबाट मोफसल यात्रा सुरुआत गर्दैछ ।

फिल्म हेर्ने दर्शक तथा सेलिब्रेटीबाट तारिफ पाइरहेको ‘लालीबजार’का दर्शकका रुपमा पछिल्लो समय परिवार नै दर्शक बनेर आइरहेका छन् । बादी समुदायका अभियन्ताले समेत फिल्म हेरेर सामाजिक सञ्जालमार्फत तारिफ गरिरहेका छन् ।

प्रदर्शनकै दिनदेखि काठमाडौं उपत्यकामा विभिन्न सिनेमा घरमा पुगेर दर्शक भेटघाट गरिरहेको टिमले केही दिन उपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै साक्षात्कार गर्ने कार्यकारी निर्माता प्रदीप भट्टराईले बताए ।

उनले सुर्खेतबाट सुरू हुने यात्रा नेपालगञ्ज हुँदै मोफसलका अन्य सहरमा पनि पुग्ने बताए । “हामी दर्शकलाई सरप्राइज दिन विभिन्न सहरमा पुग्नेछौँ, उहाँहरूले फिल्म हेरिरहँदा अन्त्यमा हामीसँग साक्षात्कार गर्नुहुनेछ”, उनले भने ।

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।