दोस्रो सातामा झनै आक्रामक बन्दै ‘लालीबजार’

काठमाडौं । नेपाली चलचित्र बजारमा मौलिक र सामाजिक कथावस्तुले कसरी दर्शकको मन जित्छ भन्ने उदाहरण चलचित्र ‘लालीबजार’ले प्रस्तुत गरेको छ ।

गत वैशाख २५ गतेदेखि प्रदर्शन भइरहेको यो चलचित्रले दोस्रो सातामा प्रवेश गर्दा आफ्नो व्यावसायिक पकड झनै मजबुत बनाएको छ ।

पहिलो साताको तुलनामा दोस्रो साता चलचित्रको शो सङ्ख्या र अकुपेन्सी दुवैमा उल्लेख्य वृद्धि भएको छ । विशेषगरी ‘लालीबजार’ हेरेर निस्किएका दर्शकले दिएको सकारात्मक प्रतिक्रियाका कारण दोस्रो सातामा सिनेमाको व्यापार ‘आक्रामक’ देखिएको हो ।

चलचित्रको दोस्रो साताको शुक्रबार र शनिबारको व्यापार पहिलो साताको सुरुवाती दिनको तुलनामा निकै उत्साहजनक छ । दर्शकको चाँप बढेपछि देशभरका प्रदर्शकहरूले फिल्मको शो सङ्ख्यामा वृद्धि गरेका छन् । हाल ‘लालीबजार’ले देशभर कुल २ सय २७ शो पाएको छ, जुन अघिल्लो साताको तुलनामा दोब्बरले बढोत्तरी हो ।

चलचित्रका निर्माता म्याक्स दीपेश खत्री भन्छन्, “पहिलो साताभन्दा दोस्रो सातामा दर्शकको उपस्थिति बढ्नुले हाम्रो फिल्मलाई दर्शकले रुचाएको मात्र प्रमाणित गर्दैन, फिल्मले आफैँले आफैँलाई प्रचार गरिरहेको पनि पुष्टि गर्छ । हलमा आमाको सङ्घर्ष देख्दा धेरै दर्शक भावुक भएको पाएका छौँ ।”

यम थापाको निर्देशनमा तयार भएको ‘लालीबजार’ले बादी समुदायको पृष्ठभूमिमा एक आमा र छोरीबीचको भावनात्मक सम्बन्ध र सङ्घर्षलाई चित्रण गरेको छ । फिल्म हेर्ने दर्शकहरूले आमाको महत्त्व र छोरीप्रतिको दायित्वलाई फिल्मले गहिरोसँग बुझाएको प्रतिक्रिया दिएका छन् । हलबाट निस्कँदा दर्शकका आँखा रसाउनु नै फिल्मको सफलता भएको निर्माण पक्षको दाबी छ ।

फिल्मको सफलताको खुसी साट्न र दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन निर्माण टिम यतिबेला मोफसल भ्रमणमा छ । सुर्खेतबाट सुरु भएको यो यात्रा अन्तर्गत अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, डेब्यु अभिनेता विशाल देवकोटा र कार्यकारी निर्माता प्रदीप भट्टराईको टोली शनिबार पर्यटकीय नगरी पोखरा पुगेको छ ।

आफ्नो भूमिकाले पाएको प्रशंसाबाट अभिनेत्री स्वस्तिमा खड्का उत्साहित छिन् । उनले भनिन्, “जसको कथा हामीले पर्दामा देखायौँ, उहाँहरूबाटै माया र धन्यवाद पाउँदा काम सफल भएको महसुस भइरहेको छ । हामी देशभरका दर्शकसँग प्रत्यक्ष भेटेर प्रतिक्रिया लिन आतुर छौँ ।”

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।