रणवीर सिंहमाथि लागेको ‘प्रतिबन्ध’मा नयाँ ट्विस्ट

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र चलचित्र ‘डन ३’ बीचको विवाद विगत केही समयदेखि चर्चाको केन्द्र बनेको छ । यो विवादले अब कानुनी रूप लिएको छ ।

चलचित्रको निर्माण पक्ष र भारतीय फिल्म उद्योगका प्राविधिकहरूको छाता संगठन ‘पश्चिम भारत चलचित्र कर्मचारी महासंघ’ (एफडब्लूआईसीई) सँगको बढ्दो टकरावका बीच अभिनेता सिंहले संघविरुद्ध कानुनी कारबाही सुरु गरेका छन् ।

केही समयअघि ‘डन ३’ का निर्माता फरहान अख्तर र रितेश सिधवानी (एक्सेल इन्टरटेनमेन्ट) ले अभिनेता रणवीरको व्यवहारलाई लिएर एफडब्लूआईसीईमा उजुरी दर्ता गरेका थिए । उक्त उजुरीपछि एफडब्लूआईसीईले रणवीर विरुद्ध ‘नन-कोअपरेशन’ अर्थात् असहयोगको निर्देशन जारी गरेको थियो ।

संघका कुनै पनि सदस्य (प्राविधिक, कलाकार, मजदुर) लाई रणवीरका कुनै पनि प्रोजेक्टमा काम नगर्न निर्देशन दिइएको थियो । यो निर्देशन बलिउडमा निकै घातक मानिन्छ । आफूमाथि लगाइएको प्रतिबन्ध र असहयोगको निर्णय विरुद्ध रणवीरले कडा कदम चालेका छन् ।

अभिनेताले कानूनी नोटिसमा भारतीय चलचित्र उद्योगकै सबैभन्दा शक्तिशाली संस्था एफडब्लूआईसीई विरुद्ध कानुनी नोटिस पठाएका हुन् ।

जसमा एफडब्लूआईसीईले जारी गरेको ‘नन-कोअपरेशन’ निर्देशनको वैधानिकतामाथि प्रश्न उठाइएको छ । यद्यपि रणवीरले कानुनी नोटिसमार्फत ठ्याक्कै के माग गरेका छन् भन्ने कुरा गोप्य राखिएको छ, तर यसले बलिउडमा ठूलो हलचल पैदा गरेको छ ।

रणवीरले कानुनी सूचना पठाएपछि एफडब्लूआईसीईले पनि आफ्नो रणनीति बनाउन थालेको छ । जुन २ मा उनका कानुनी सल्लाहकारहरूले एफडब्लूआईसीईलाई एउटा कडा कानुनी नोटिस पठाएका छन् । जसमा रणवीरको पक्षले एफडब्लूआईसीईको निर्णयलाई अन्यायपूर्ण र एकपक्षीय भएको दाबी गरेको छ ।

लामो समयदेखि यस विषयमा मौन रहेका रणवीर सिंहले आफ्नो धारणा सार्वजनिक गर्दै उनका तर्फबाट जारी बयानमा भनिएको छ, “रणवीर सिंहले सधैं फिल्म उद्योग र ‘डन’ जस्तो प्रतिष्ठित फ्रान्चाइजीको सम्मान गरेका छन् । उनले अहिलेसम्म मौन रहनुको कारण व्यावसायिक मर्यादा कायम राख्नु थियो । तर, जब कुरा व्यक्तिगत मानमर्दन र काम गर्ने अधिकारमाथि आउँछ, तब कानुनी उपचार खोज्नुको विकल्प रहेन ।”

एफडब्लूआईसीईका मुख्य सल्लाहकार अशोक पण्डितले आफूहरूले रणवीरको तर्फबाट कानुनी सूचना प्राप्त गरेको पुष्टि गरेका छन् । यस विषयमा संघको आधिकारिक धारणा सार्वजनिक गर्न र ‘डन ३’ विवादको वास्तविकता बाहिर ल्याउन मुम्बईमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

शाहरुख खानलाई विस्थापित गरेर ‘डन’ को विरासत सम्हाल्न तयार भएका रणवीरका लागि यो प्रोजेक्ट करिअरकै सबैभन्दा ठूलो अवसर मानिएको थियो । तर, ‘धुरन्धर’ सफल भएपछि उनले अचानक ‘डन ३’बाट हात झिक्दा फरहानलाई आर्थिक रूपमा ठूलो नोक्सान भएको थियो । यसपछि उनले क्षतिपूर्तिको माग गर्दै विभिन्न संस्थामा रणवीरविरुद्ध उजुरी दर्ता गरेका थिए ।

रणवीर र निर्माता फरहान अख्तरबीचको यो लडाइँले चलचित्र ‘डन ३’ को भविष्यमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । यदि यो विवाद छिटै समाधान भएन भने चलचित्रको छायांकन र प्रदर्शनको तालिका नराम्ररी प्रभावित हुने भएको छ ।

बलिउडमा पछिल्लो समय देखिएका विवादहरूमध्ये यसलाई निकै महत्वपूर्ण मानिएको छ, किनकि यसमा एक ठूलो सुपरस्टार, प्रतिष्ठित ब्यानर र शक्तिशाली श्रमिक संघ आमने-सामने भएका छन् ।