सचदेवासँग अभिनय प्रशिक्षण लिएकी सलिना नेपाली सिनेमामा डेब्यू गर्दै
काठमाडौं । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्र ‘कंगाल करोडपति’को मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन् ।
निर्माण पक्ष र सलिनाबीच हालै कागजी सम्झौता भएको हो । यो चलचित्रमार्फत सलिनाले नेपाली रजतपटमा आफ्नो डेब्यु यात्रा सुरु गर्न लागेकी हुन् ।
‘कंगाल करोडपति’मा केही समय अघि अभिनेता मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । यस चलचित्रमा उनको जोडी सलिनासँग बाँध्ने पक्का भएको छ ।
अभिनेत्री तामाङले नेपाली सिनेमामा आउनुअघि आफूलाई अभिनयमा निखारेकी छन् । उनले भारतको मुम्बईस्थित अभिनय विद्यालय ‘द एक्टर्स ट्रुथ’ बाट अभिनयको प्रशिक्षण लिएकी हुन् । उनले बलिउडका अभिनय प्रशिक्षक तथा अभिनेता सौरभ सचदेवासँग अभिनय सिकेकी छिन् ।
सचदेवाले ‘एनिमल’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जसमा उनी बबी देओलको भाइको भूमिकामा देखिएका थिए । यस्तै उनले तृप्ति डिमरी, ज्याकलिन फर्नान्डेज, हर्षवर्धन राणे, राघव जुयाल जस्ता कलाकारलाई अभिनय सिकाउने गुरुका रूपमा चिनिन्छन् ।
चलचित्रमा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो डेब्यूका लागि उपयुक्त सिनेमा भएको बताएकी छन् ।
सलिनाले भनिन्, ‘म यस फिल्मको एउटा बलियो पात्रको रूपमा जोडिन पाउँदा निकै खुसी छु । मेरो अभिनय र हाम्रो यो फिल्मलाई नेपाली दर्शकले भरपूर माया र साथ दिनुहुनेछ ।’
‘कंगाल करोडपति’ मा पहिलो पटक पर्दामा अपोजिटमा देखिने मुकुन र सलिनाको यो जोडीलाई दर्शकका लागि नयाँ अनुभव हुने अपेक्षा निर्माण टिमले लिएको छ ।
प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रलाई सुमन गजमेरले लेखेका हुन् । सिनेमाको निर्मातामा अनिलकुमार बुढाथोकी रहेका छन् भने सह-निर्मातामा छिरिङ तामाङ छन् । त्यस्तै, लाइन प्रोड्युसरका रूपमा रीता श्रेष्ठ तामाङ र सुरज कुमार छन् ।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको कथामा निर्माण हुने बताइएको छ ।
निर्देशक राजु श्रेष्ठका अनुसार हाल चलचित्रका अन्य कलाकारहरुको छनोट कार्य धमाधम भइरहेको छ । कलाकारको टुंगो लाग्ने बित्तिकै एक चरणको कार्यशाला सञ्चालन गरिने र त्यसपछि मात्रै छायांकन सुरु गरिने तयारी छ ।

