एक साता अगाडि नै आउने भयो ‘मास्टर्नी’, ९ भाषामा रिलिज हुने
काठमाडौं । चलचित्र ‘मास्टर्नी’को फर्स्ट लुक्स सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति हेरफेर गरेको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको यस चलचित्रले शुक्रबार एक थ्रिलर लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।
यसअघि भदौ १२ गतेका लागि तय गरिएको प्रदर्शन मितिलाई एक साता अगाडि सार्दै अब भदौ ५ गते बाट प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ ।
निर्माण टिमले शुक्रबार नयाँ मिति सार्वजनिक गरेसँगै अभिनेत्री प्रियंका कार्की फिचर रहेको पोस्टर समेत सार्वजनिक गरेको छ । उक्त पोस्टरमा प्रियंकालाई एक निकै भिन्न र रहस्यमयी गेटअपमा देख्न सकिन्छ ।
जहाँ बाथटबको पानीमा सुतेकी प्रियंकाको अनुहार बाहिरबाट शान्त देखिए पनि उनका आँखाहरुले कुनै गहिरो कथा वा प्रतिशोध लुकाएको आभास दिन्छ । चस्मा लगाएकी प्रियंकाको यो ‘सिरियस’ अवतार र उनीसँगै पानीमा पौडिरहेका सुनौला माछाहरुले चलचित्रको थ्रिलर पक्षलाई प्रस्तुत गरेको छ ।
पोस्टरको बीचमा लेखिएको अंग्रेजी ट्यागलाइन “The calmest mind planned the deadliest game” (सबैभन्दा शान्त दिमागले नै सबैभन्दा घातक खेलको योजना बुन्छ)ले चलचित्रको मुख्य पात्रको स्वभाव र कथाको गहिराइलाई संकेत गरेको छ ।
यसले मुख्य पात्र बाहिरबाट जति सरल देखिए पनि भित्र निकै चलाख र खतरनाक हुन सक्ने संकेत गर्दछ ।
चलचित्रमा प्रियंकाका अलावा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, अनुपविक्रम शाही, प्रमोद अग्रहरी कलाकारहरूको अभिनय रहेको छ । यस्तै, सिम्रन खड्का, रक्षा थापा र दिनेश काफ्ले लगायतका कलाकारहरूले पनि यसमा मुख्य भूमिका निभाएका छन् ।
यो चलचित्रलाई सुभेन्दु घोषले निर्देशन गरेका हुन् । अभिनेत्री प्रियंकाले यस चलचित्रको कथा आफैं लेखेकी हुन् भने उनले शान बस्नेतसँग मिलेर संवाद समेत तयार पारेकी छिन् । चलचित्रको स्क्रिप्ट शान बस्नेतले लेखेका हुन् ।
प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रुपमा सिमोस सुनुवार रहेका छन् ।
युवराज इन्दोरियाले खिचेको यो चलचित्रको सम्पादन राजा सिंह सिदुले गरेका छन् ।
भदौ ५ गतेबाट प्रदर्शनमा आउने ‘मास्टर्नी’ ले नेपाली चलचित्र बजारमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि प्रभाव जमाउने लक्ष्य राखेको छ । निर्माण टिमका अनुसार यो चलचित्र नेपाली सहित कुल ९ वटा विभिन्न भाषाहरुमा एकसाथ प्रदर्शन हुने छ ।

