पारसको हातमा हतकडी र बेहुली दिव्या
काठमाडौं । हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमा घरमा आउने भएको छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो ।
सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ । तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय)को अनुहारमा गम्भीर भाव र सामान्य चोट देखिन्छ भने उनको नाडीमा हतकडी झुन्डिएको छ ।
रातो रंगको आकर्षक विवाह पहिरन र गहनामा सजिएकी दिव्या रायमाझीले आँखा चिम्लिएर शान्त मुद्रामा पारसको छातीमा टाउको अडेस लगाएकी छन् । हतकडी लागेको पुरुषलाई नवदुलहीले गरेको यो भावनात्मक आलिङ्गनले सिनेमाभित्र कुनै गम्भीर पारिवारिक वा सामाजिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेम लुकेको प्रष्ट संकेत गर्छ ।
पोस्टर सार्वजनिक गर्न काठमाडौंमा आयोजित जमघटमा मुख्य कलाकार द्वय पारस र दिव्या पोस्टरकै हुबहु आवरणमा मिडियासामु प्रस्तुत भएका थिए । दिव्या दुरुस्तै बेहुलीको पहिरनमा थिइन्, अनि पारसको हातमा हतकडी थियो । चलचित्रमा यी दुईका अलावा सुशान्त कार्कीको पनि प्रमुख अभिनय रहनेछ ।
‘होस्टेल ३’ मै सहकार्य गरेको सशान कँडेल र माधव शर्माको जोडीले नै ‘बेहुली’लाई आकार दिएको हो । माधवको कथामा सशानले सिनेमाको निर्देशन कमान्ड सम्हालेका छन् ।
पर्दामा पारस, दिव्या र सुशान्तलाई पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरजस्ता कलाकारले साथ दिएका छन् । प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहनेछ ।
चर्चित सङ्गीतकार अर्जुन पोखरेलले निर्माण गरेको चलचित्रमा प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह(निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

