‘बलिदान’मा बालेन शाहलाई ‘हिरो’ बनाउन चाहन्थे सन्तोष सेन

काठमाडौं । गत वर्ष दशैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘बलिदान’ करिब एक वर्ष पुग्न लाग्दा यसका निर्माता सन्तोष सेनले एउटा रहस्य खोलेका छन्, जुन अहिले नेपाली सिने वृत्तमा चर्चा भइरहेको छ ।

निर्माता सेनका अनुसार ‘बलिदान’को मुख्य पात्र ‘अभय’का लागि उनको पहिलो रोजाइ कुनै व्यावसायिक कलाकार नभई काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर (हालका प्रधानमन्त्री) बालेन शाह थिए ।

हालैको एक अन्तर्वार्तामा निर्माता सेनले चलचित्रको ‘अभय’ पात्रका लागि बालेन शाहलाई प्रस्ताव गरेको खुलासा गरेका हुन् ।

उक्त अन्तर्वार्तामा बालेनलाई नै किन रोज्नुभयो भन्ने प्रश्नमा सेनले भने, “मलाई उहाँको लुक र एटिट्यूड एकदमै ‘हिरोइज्म’ खालको लाग्छ । उहाँ हिँड्दा वा बोल्दा साउथ इन्डियन फिल्मका सुपरस्टारको जस्तो अदा देखिन्छ । त्यसैले मैले बालेनजीलाई नै सोचेर कथाको खाका तयार पारेको थिएँ ।”

सेनले बालेनलाई चलचित्रको ‘स्टोरीलाइन’ समेत पठाएका थिए । उनले कुमार बेनमार्फत पनि बालेनसँग कुरा अगाडि बढाएको बताए ।

निर्माता सेनका अनुसार बालेनले चलचित्रको कथावस्तुमा रुचि देखाए पनि आफ्नो राजनीतिक व्यस्तताका कारण समय दिन नसक्ने बताएका थिए ।

“उहाँले कथा त मन पराउनुभयो, तर समय (टाइमिङ) को समस्या देखाउनुभयो । मभन्दा पनि प्रोफेसनल हिरो नै लिनुस् भन्ने उहाँको सल्लाह थियो,” सेनले अन्तर्वार्तामा भनेका छन् । त्यसबेला समय र संयोग नमिल्दा बालेनलाई पर्दामा उतार्ने सेनको सपना अधुरै रहेको उनको भनाइ छ ।

अन्तर्वार्ताकै क्रममा सेनले बालेन शाह मेयर हुँदा नै आफूले उनी देशको प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको दाबी समेत गरे । बालेनको कार्यशैली र नियतप्रति विश्वास व्यक्त गर्दै उनले भने, “उहाँ मेयर हुँदा नै देशको नेतृत्व गर्ने ठाउँमा पुग्नुहुन्छ भन्नेमा म ढुक्क थिएँ । अहिले उहाँको काम गर्ने शैली र नियत सफा छ । कहिलेकाहीँ काम गर्दा सोचेजस्तो नतिजा नआउन सक्छ, तर उहाँको प्रयास इमानदार छ ।”

‘बलिदान’ घरेलु बक्स अफिसमा व्यावसायिक रूपमा असफल सावित भयो । ठूलो तामझाम र उच्च बजेटमा निर्माण भए पनि चलचित्रले बक्स अफिसमा दर्शकको सोचेजस्तो साथ पाउन सकेन ।

‘बलिदान’लाई ६ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । एक्सन र स्टन्टमा कुनै कसर बाँकी नराखिएको भनिए पनि चलचित्रको कमजोर पटकथा र फितलो प्रस्तुतीकरणका कारण दर्शकले यसलाई रुचाएनन् । नतिजास्वरूप चलचित्रको कमाइ ५ करोडको आँकडा छुन नपाई रोकियो, जसले निर्माता सेनलाई ठूलो आर्थिक क्षति पुर्‍यायो ।

चलचित्र असफल भए पनि सन्तोष सेनले यो रहस्य बाहिर ल्याएपछि दर्शकले यदि बालेनले अभिनय गरेको भए सायद ‘बलिदान’को व्यावसायिक नतिजा अर्कै हुन सक्थ्यो कि ? भने चर्चा र अनुमान गरिरहेका छन् ।