‘चमेलीको पोइ’ को शीर्ष गीतमा सुरक्षासँग प्रेमचरो र विल्सनको ठुम्का

काठमाडौं । आगामी असोज १६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘चमेलीको पोइ’को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको टाइटल गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको छ । संगीत पनि स्वयम् राजनराज शिवाकोटीले नै भरेका छन् भने शब्द फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहराले लेखेका हुन् ।

यस गीत र चलचित्रको मुख्य आकर्षण चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) हुन् । करिब १५ वर्ष (डेढ दशक) सम्म नेपाली रजतपटबाट ओझेल परेका त्रिपाठीले यसै सिनेमामार्फत पुनरागमन गरेका छन् ।

कबिराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा त्रिपाठीसँगै अभिनेत्री सुरक्षा पन्त र विल्सन विक्रम राईले नृत्य गरेका छन् ।

कार्यक्रममा चलचित्रको शीर्ष भूमिकामा रहेकी अभिनेत्री सुरक्षा पन्तले ‘चमेलीको पोइ’ आफ्नो करियरको लागि एउटा भिन्न अनुभव भएको बताइन् । उनले भनिन्, “मैले अहिलेसम्म गरेका फिल्महरूभन्दा यो निकै फरक र रमाइलो जनरा (कमेडी बेस) मा छ, त्यसैले म निकै उत्साहित छु।”

यस्तै, अभिनेता मुकुन भुसालले सुरक्षा पन्तसँग स्क्रिन सेयर गर्ने आफ्नो लामो समयदेखिको चाहना यस चलचित्रमार्फत पुरा भएको बताए ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राईका अलावा उमेश राई, रबिन्द्र झा,गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, बिशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतका कलाकारले अभिनय गरेका छन् ।

यस चलचित्रलाई सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन् ।

निर्माताहरूका अनुसार हाल यो चलचित्रको अमेरिकाका विभिन्न सहरहरूमा विशेष प्रदर्शन भइरहेको छ, जहाँबाट निकै सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् ।

चलचित्रको छायांकन शेरबहादुर तामाङले गरेका हुन् भने सम्पादन बन्दे प्रसादको रहेको छ । नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।