‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक

काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ । शिशिर थतालको शब्द र संगीत रहेको छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो ।

यसअघि सार्वजनिक गरिएको फिल्मको फस्ट लुक भिडियोले सामाजिक सञ्जालमा उल्लेखनीय चर्चा पनि बटुलेको थियो । विशेषगरी अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठीका क्यारेक्टर लुक्सले दर्शकको ध्यान तानेका थिए ।

फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । अब निर्माण टिमले ट्रेलर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । लिरिकल थेम गीत सार्वजनिक भएसँगै प्रचार अभियानलाई अझ तीव्र बनाइएको छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको फिल्ममा अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन् । चलचित्रमा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्गबहादुर पुन मगर, सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत कलाकारहरूको अभिनय रहेको छ।

सुमन अगरवालको कन्सेप्टमा निर्माण भएको फिल्मको कथा तथा पटकथा लेखन बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन् । चलचित्रको छायांकन सुदीप बरालको टोलीले गरेको हो ।