‘कमला मिस’को ट्रेलरमा एकअर्काको साथ गुमाएका आमा र छोराको कथा
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह निर्देशित चलचित्र ‘कमला मिस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा आमाको माया र साथ गुमाएको बच्चाको अवस्था चित्रण गरिएको छ ।
बच्चा छोडेर हिँड्ने आमाको बाध्यता र उनले भोग्नु परेको कारुणिक जीवन ट्रेलरमा देखाइएको छ ।
साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा मनोवैज्ञानिक कथावस्तुमा आधारित छ । यो विजय मल्लको प्रख्यात नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित छ ।
चलचित्रमा नीर शाह आफैँ पनि मुख्य भूमिकामा देखिनेछन् भने उनीसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल लगायतका कलाकारहरूको मुख्य भूमिका छ । अन्य कलाकारहरूमा भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडा रहेका छन् ।
निर्देशक शाहले ‘कमला मिस’मार्फत सामाजिक यथार्थ र पारिवारिक भावनालाई केन्द्रमा राख्दै फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस बसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतोबाघ’जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन् ।
विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् । पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन् ।
चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर्देशक शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन् ।




