फ्राइडे रिलिज : एक्लै आयो ‘लज्जावती’
काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नयाँ चलचित्र ‘लज्जावती’ प्रदर्शनमा आएको छ । राजबहादुर सानेको निर्देशनमा निर्माण भएको यो सिनेमा फ्राइडे रिलिजको परम्परा धान्दै आजदेखि देशभरबाट प्रदर्शनमा आएको हो ।
यद्यपी देशभर सिनेमा हलहरुमा यो चलचित्रले निकै न्यून शो पाएको छ । यतिबेला हलहरूमा हलिउड सिनेमा ‘स्पाइडर म्यान’ र अर्को नेपाली चलचित्र ‘गौँथली’को वर्चस्व देखिएको छ । यी दुई सिनेमाका कारण ‘लज्जावती’ले देशभर जम्मा ६० को हाराहारीमा मात्र शो पाएको छ । पाएका शोहरूमा पनि दर्शकको उपस्थिति निकै न्यून देखिएको छ ।
विगत पाँच सातादेखि घरेलु बक्स अफिसमा चलचित्र ‘गौँथली’ले बलियो पकड बनाएको छ । यस अवधिमा २१ करोड ४१ लाखभन्दा बढी व्यापार गरिसकेको यस सिनेमाप्रति दर्शकको आकर्षण अझै घटेको छैन ।
यस्तै, गत साता देखि प्रदर्शनमा आएको चलचित्र ‘हली’ पनि प्रदर्शनरत छ । यो सिनेमा दोस्रो सातामा प्रदर्शन भइरहँदा ३ शो पाएको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार आजदेखि प्रदर्शनमा आएको चलचित्र ‘लज्जावती’को अधिकांश हलहरूमा टिकट बिक्रीको अवस्था निराशाजनक छ र धेरैजसो शोहरू खाली नै चलिरहेका छन् ।
यसअघि ‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, र ‘सिटामोल’ लगायतमा सामाजिक कथा आधारित सिनेमा निर्देशन गरेका सानेले यसपटक प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेका छन् ।
आहा फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा क्यानी मल्टिभिजन आईएनसीले सहकार्य गरेको छ । सौरभ ओली प्रस्तुतकर्ता रहेको यस सिनेमालाई कमल प्रसाद शर्मा र सन्दीप कुमार रोकाले निर्माण गरेका हुन् भने दिनेश राज बुढाथोकी कार्यकारी निर्माताको भूमिकामा छन् ।
‘लज्जावती’को मुख्य भूमिकामा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी रहेका छन् भने सिनेमामा अभिनेता धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, केशव, आर आर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा र काजल भुजेल लगायतको पनि अभिनय रहेको छ ।
सिनेमामा दिव्यराज सुवेदीको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ । द्वन्द्व निर्देशन देव महर्जनको छ ।
नेपाली मौलिक प्रेम कथा भनिएको ‘लज्जावती’ले प्रचारप्रसारमा राम्रै मेहनत गरे पनि हलसम्म दर्शक तान्न भने हम्मे-हम्मे परेको देखिन्छ । यो चलचित्रको व्यवसायिक भविष्य आगामी केही दिनको ‘वर्ड अफ माउथ’ (दर्शकको प्रतिक्रिया) मा निर्भर रहने देखिन्छ ।




