‘लज्जावती’को शोमा भारी गिरावट, के ‘वर्ड अफ माउथ’ले बचाउला ?
काठमाडौं । ठूलो अपेक्षाका साथ प्रदर्शनमा आएको चलचित्र ‘लज्जावती’ले सुरुवाती उत्साहलाई टिकाइराख्न संघर्ष गरिरहेको छ । शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको यो सिनेमाले तेस्रो दिनसम्म आइपुग्दा आफ्ना शोहरूमा ठूलो कटौती व्यहोर्नुपरेको छ ।
शुक्रबार प्रदर्शनको पहिलो दिन ‘लज्जावती’ले देशभरका विभिन्न हलहरूमा करिब ६० को हाराहारीमा शो पाएको थियो । तर, दर्शकको उपस्थिति र व्यापारिक नतिजा कमजोर देखिएपछि तेस्रो दिन आइतबारसम्म आइपुग्दा शो संख्या ह्वात्तै घटेको छ । हाल देशभर यो सिनेमा जम्मा २५ वटा शोमा सीमित हुन पुगेको छ ।
देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’मा यसको उपस्थिति निकै कमजोर देखिएको छ । आइतबारका लागि क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा यो चलचित्रलाई जम्मा ४ शो मात्र उपलब्ध गराएको छ, जसमा काठमाडौं उपत्यकाभित्र केवल ३ शो मात्र रहेको छ । यो तथ्याङ्कले सिनेमाको बक्स अफिस कलेक्सनमा गम्भीर असर परेको संकेत गर्दछ ।
शो संख्यामा भारी गिरावट आए पनि निर्माण पक्ष अझै आशामुखी छ । नेपाली चलचित्रको इतिहासमा कतिपय चलचित्रहरूले सुरुवाती दिनमा कमजोर प्रदर्शन गरे पनि दर्शकको सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) का कारण पछिल्ला दिनहरूमा शो संख्या बढाउँदै ब्लकबस्टर भएका उदाहरणहरू छन् ।
यदि ‘लज्जावती’ले आगामी दुई-तीन दिनमा दर्शकलाई हलसम्म तान्न सक्यो र हेर्नेहरूबाट राम्रो प्रतिक्रिया पायो भने यसको शो संख्या पुनः बढ्न सक्ने सम्भावना कायमै छ । तर, ‘वर्ड अफ माउथ’ प्राप्त गर्न नसक्दा चलचित्रप्रति दर्शकको आकर्षण नै बढ्न सकेको छैन बरु हलहरूबाट उत्रिन थालिसकेको छ ।
१० बजेसम्म हेर्दा केही मल्टिप्लेक्स हलहरू आज आइतबारलाई एक एक शो उपलब्ध गराएका छन् भने धेरैजसो हलहरूले यो सिनेमा उतारिसकेका छन् ।
आहा फिल्म्स र क्यानी मल्टिभिजन आइएनसीको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई राजबहादुर सानेले लेखन तथा निर्देशन गरेका हुन् ।
सामाजिक कथावस्तुलाई समेटिएको चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, धिरेन शाक्य, जानुका विश्वकर्मा, मेनुका माझी, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आर आर खड्का लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।
सौरभ वली प्रस्तुतकर्ता रहेको यस चलचित्रका निर्माताहरू कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकीले कार्यकारी निर्माता छन् ।
चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र बाबुल गिरीको संगीत रहेको छ । यस्तै, चलचित्रका द्वन्द्व दृश्यहरू देव महर्जनले निर्देशन गरेका हुन् ।
अबको केही दिन ‘लज्जावती’ का लागि निर्णायक हुने देखिन्छ । के यो चलचित्रले दर्शकको मन जितेर पुनः हलहरूमा आफ्नो कब्जा जमाउला त? यो हेर्न बाँकी नै छ ।




