एक सातामै हलबाट बाहिरिए ‘हली’ र ‘कमला मिस’ले कति कमाए ?

काठमाडौं । गत साउन २२ गतेबाट एकसाथ प्रदर्शनमा आएका दुई चलचित्र ‘हली’ र ‘कमला मिस’को बक्स अफिस नतिजा निराशाजनक देखिएको छ ।

कमजोर ओपनिङ र दर्शकको न्यून उपस्थितिका कारण यी दुवै चलचित्र प्रदर्शनको एक सातामै हलबाट उत्रिएका छन् ।

चलचित्र विकास बोर्डको आधिकारिक ‘सिनेपा बक्स अफिस’ प्रणालीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन ३१ गते आइतबार रातिसम्मको विवरणमा यी दुई चलचित्रको कमाइ निकै न्यून देखिएको हो ।

सामाजिक विषयवस्तुमा आधारित भनिएको चलचित्र ‘हली’ ले देशभरका हलहरूबाट औसत व्यापार गरेको छ । बोर्डको तथ्याङ्क अनुसार ७ हजार ७ सय १० टिकट बिक्री भएको यस चलचित्रले २१ लाख ७७ हजार ६० रुपैयाँ कुल ग्रस कलेक्सन गरेको छ ।

प्रचार-प्रसारमा केही सक्रिय देखिए पनि यस चलचित्रले हलमा दर्शकलाई आकर्षित गर्न सकेन, जसका कारण एक सातामै यसको शो संख्यामा भारी कटौती हुँदै हलबाट बाहिरिनु पर्यो ।

अर्को चलचित्र ‘कमला मिस’को अवस्था भने झनै दयनीय देखिएको छ । हलमा लागेको पत्तो समेत नपाई यो चलचित्र पर्दाबाट हटेको छ ।

यसको ७ सय १८ टिकट बिक्री भएको यस चलचित्रको २ लाख ६१ हजार ८४५ रुपैयाँ कुल ग्रस कलेक्सन छ ।

हजारको संख्यामा पनि टिकट बिक्री गर्न नसक्दा यस चलचित्रले लगानीको सानो हिस्सा पनि उठाउन नसकेको देखिन्छ ।