आकाश श्रेष्ठले स्वीकारे करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठबीचको प्रेम सम्बन्धलाई लिएर लामो समयदेखि नेपाली चलचित्र वृत्तमा चर्चा हुँदै आएको थियो । सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा यी दुईको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी हुँदै आएका थिए । यद्यपि, दुवैले लामो समयसम्म आफ्नो सम्बन्धबारे खुलेर केही बोलेका थिएनन् ।

तर अब भने अभिनेता आकाश श्रेष्ठ स्वयंले अभिनेत्री करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध स्वीकार गरेका छन् । सोमबार आकाशले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत करुणासँगको सम्बन्ध सार्वजनिक गर्दै आफूहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलासा गरेका हुन् ।

आकाशले करुणासँगका दुई तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘पाँच वर्षको हाम्रो साथ, पछाडि छोडिएका अनगिन्ती सुन्दर पलहरू, अझै बाँच्न बाँकी अनगिन्ती खुसीका क्षणहरू, अनि अनन्तसम्म सँगै रहने एउटा जीवन ।’

आकाशको यो अभिव्यक्तिले उनीहरूबीचको सम्बन्धबारे चल्दै आएको लामो समयदेखिको चर्चालाई औपचारिक रूपमा पुष्टि गरेको छ । विशेषगरी ‘पाँच वर्षको हाम्रो साथ’ भन्ने उनको भनाइले यो सम्बन्ध पछिल्लो समयको मात्र नभई लामो समयदेखि कायम रहेको देखाउँछ ।

आकाश र करुणा दुवैले एउटै चलचित्रमा सहकार्य गरेका छैनन् । तर उनीहरूले केही म्युजिक भिडियोमा भने सँगै काम गरेका छन् । यही क्रममा उनीहरूबीच निकटता बढेको चर्चा चलचित्र क्षेत्रमा हुँदै आएको थियो । आकाश र करुणाले दर्जनौं गीतमा अभिनय गरिसकेका छन् । उनीहरूको भेट म्यूजिक भिडियोमा काम गर्ने क्रममा भएको थियो । त्यसपछि सुरु भएको उनीहरूको मित्रता बिस्तारै प्रेममा परिणत भयो ।

यसअघि करुणासँग आकाशको प्रेम सम्बन्धबारे प्रश्न गर्दा उनले आफ्नो व्यक्तिगत जीवनबारे धेरै कुरा सार्वजनिक गर्न नचाहेको संकेत गरेकी थिइन् । एक प्रेसमिटमा उनलाई आकाशसँगको प्रेम सम्बन्धबारे प्रश्न गर्दा उनले व्यक्तिगत विषयमा नबोल्ने बताउँदै भनेकी थिइन्, ‘म मेरो प्राइभेट लाइफ प्राइभेट नै राख्न चाहन्छु । म सिङ्गल छु, रिलेसनसिपमा छु, यो मेरो व्यक्तिगत नितान्त कुरा हो ।’

करुणाले त्यतिबेला आकाशलाई आफूले काम गरेका को–आर्टिस्टमध्ये सहज कलाकार तथा राम्रो साथीका रूपमा भने चिनाएकी थिइन् । उनले सम्बन्धलाई न स्वीकार गरेकी थिइन्, न त आकाशसँग प्रेम सम्बन्ध नरहेको भनेर स्पष्ट रूपमा अस्वीकार नै गरेकी थिइन् । त्यसैले उनीहरूको सम्बन्धबारेको चर्चा अझै कायमै थियो ।

अब भने आकाश स्वयंले पाँच वर्षको साथबारे खुलेर उल्लेख गरेपछि उनीहरूबीचको प्रेम सम्बन्धमा कुनै रहस्य बाँकी रहेको छैन । आकाश र करुणा यसै वर्ष विवाह गर्ने योजनामा रहेको बताइन्छ ।

‘सय कडा दश’बाट अभिनयमा डेब्यु गरेकी करुणा श्रेष्ठ पछिल्लो समय मोडलिङमा सक्रिय छिन् ।  सन् २०१६ मा ‘म त तिम्रै हुँ’ बाट करिअर थालेका आकाश ‘आबाट आमा २’को छायाकंन सकेर रिलिजको पर्खाइमा छन् ।