फ्लोरमा उत्रियो ‘रत्यौली’, पहिलो पटक विजय र पूजाको जोडी बाँधिदै

काठमाडौं । चलचित्र ‘रत्यौली’को छायांकन सुरु भएको छ । मंगलबार बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा पुजाआजा गर्दै सिनेमाको शुभ-मुहूर्त गरिएको हो ।

निर्माण पक्षका अनुसार ‘रत्यौली’को प्रारम्भिक दुई दिनको छायांकन काठमाडौंमा हुनेछ । त्यसलगत्तै सम्पूर्ण युनिट दोलखाको जिरी प्रस्थान गर्नेछ । जिरीमा चलचित्रको झण्डै एक महिनासम्म छायांकन गरिने कार्यतालिका तय गरिएको निर्माण टिमको भनाइ छ ।

चलचित्र ‘नाइँ नभन्नू ल ३’ बाट निर्देशनमा डेब्यू गरेका निर्देशक मुस्कान ढकाल करिब ७ वर्षपछि निर्देशनमा फर्किएका छन् । एक दर्जनभन्दा बढी सिनेमामा सहायक निर्देशकका रूपमा अनुभव बटुलेका ढकालले यसअघि चर्चित उपन्यासमा आधारित ‘समर लभ’ निर्देशन गरेका थिए । ‘रत्यौली’ उनको तेस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ ।

निर्देशक ढकाल लामो समयको ग्यापपछि एउटा मौलिक कथा लिएर फर्किएका हुन् । सामाजिक कथावस्तुमा आधारित रहने चलचित्र ‘रत्यौली’ले नेपाली समाज, मानवीय सम्बन्ध र हाम्रो मौलिक संस्कृतिलाई मुख्य विषयवस्तु बनाएको उनले बताएका छन् ।

‘रत्यौली’मा विजय बराल र पूजा शर्माको मुख्य भूमिका रहने छ । उनीहरुले पहिलोपटक पर्दामा जोडीका रूपमा काम गर्न लागेका हुन् ।

यसअघि नयाँ वर्षको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो । जसमा पूजा शर्मा पुरुषको भेषमा अर्थात् दौरा–सुरुवाल, ढाका टोपी र ओठमा जुँगा लगाएको अवतारमा देखिएकी थिइन् ।

यस्तै, चलचित्रमा लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक रेग्मी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती र कल्पना थापा लगायतको अभिनय रहनेछ ।

नाईटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा सुरज आचार्य निर्माताको रुपमा रहेका छन् ।

हरि हुमागाँई र उत्तम हुमागाँइको डीओपी रहने चलचित्रका मुख्य सहायक निर्देशक सुनिल निउरे छन् । चलचित्रमा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत रहने छ ।

निर्माण पक्षले चलचित्रलाई आगामी फागुन २१ गते महाशिवरात्रिको अवसर पारेर देशभरका हलमा रिलिज गर्ने घोषणा गरिसकेको छ ।