निखिल उप्रेतीका नाममा रहेको यो रेकर्ड
काठमाडौं । नेपाली सिनेमा उद्योगमा निखिल उप्रेतीको नाममा पनि एउटा रेकर्ड छ । त्यो हो, सात तलामाथिबाट हाम फालेको रेकर्ड ।
चलचित्र ‘पिँजडा’मा निखिल काठमाडौंको तीन कुनेस्थित कान्तिपुर पब्लिकेसनको सात तले बल्डिङबाट हाम हाम फालेका थिए । यो नै सबैभन्दा माथिबाट सिनेमामा हाम फालेको पहिलोपटक थियो । यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेका उनी एक्सन नायक मात्रै होइन एक्सन किङमा रुपमा चिनिए ।
‘पिँजडा’ विसं. २०५८ भदौ १२ गतेबाट प्रदर्शनमा आएको चलचित्र थियो । यसअघि केही एक्सन हिरोले एक्सन दिँदा डबल बडी तथा फाइटर प्रयोग गरिन्थ्यो । तर, यो चलचित्रमा निखिल आफैँ सात तलाबाट हाम फालेका थिए । उनले डबल बडी प्रयोग गरेनन् । उनले रियल एक्सन दिन थालेपछि उनका अग्रज तथा समकालीनहरूलाई चुनौती र टाउको दुखाइको विषय बनेको थियो ।
निखिल एक्सनमा नयाँनयाँ प्रयोग गर्दै अगाडि बढ्ने नायक हुन् । उनले गुडिरहेको गाडीमुनिबाट पास हुनेदेखि बिना सेफ्टी मुग्लिनको पुलको लठ्ठामा हिँड्नेसम्मको एक्सन स्टन्ट गरेका थिए ।
‘पिँजडा’मा निखिलसँगै रेश मरहठ्ठा, पवन मैनाली, निरुता सिंह, सलोन बस्नेत, प्रसिद्धिका रायमाझीलगायत कलाकारको अभिनय थियो । निखिल र प्रसिद्धिकाको यो डेब्यू सिनेमा थियो । डेब्यु सिनेमा नै हिट दिएपछि निखिलको सुखद यात्रा सुरु भएको थियो ।
देशभक्त खनालको निर्देशन रहेको चलचित्रलाई पवन मैनाली र सुशीला रायमाझी निर्माता थिए । सिनेमाको कथा देशभक्त खनाल र पवन मैनालीले लेखेका थिए । स्क्रिनप्ले र संवाद निर्देशक खनालकै थियो ।
उनै निखिल अहिले अर्को एक्सन सिनेमा ‘आचार्य’मार्फत दर्शकमाझ आउँदैछन् । यो चलचित्रले एक्सनमा नयाँ नयाँ प्रयोग गरेको बताइएको छ ।




