‘बेहुली’को कमाइको ५ प्रतिशत बाढीपीडितलाई दिइने

काठमाडौं । चलचित्र ‘बेहुली’ निर्माण टिमले आफ्नो सिनेमाबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम बाढीपहिरो पीडितका लागि सहयोग गर्ने घोषणा गरेको छ ।

रसुवा भोटेकोसी बाढीका कारण जनधनको क्षति भइरहेका बेला चलचित्र निर्माण पक्षले यस्तो निर्णय गरेको हो । काठमाडौंमा आइतबार चलचित्रको ट्रेलर सार्वजनिक गर्दै कमाइको ५ प्रतिशत हिस्सा विपद् प्रभावितका लागि छुट्याउने घोषणा निर्माता अर्जुन पोखरेलले गरेका हुन् ।

“अहिले देश बाढी र पहिरोको एउटा ठूलो विपत्तिमा छ। यस्तो बेला हामीले एउटा सानो निर्णय गरेका छौँ,” पोखरेलले भने,”हाम्रो चलचित्र ‘बेहुली’ देशभर प्रदर्शन भएपछि जति पनि बक्स अफिस कलेक्सन हुन्छ, त्यसमा सरकारी कर र वितरकको हिस्सा कट्टा गरिसकेपछि निर्माताको भागमा जुन रकम आउँछ, त्यसको ५ प्रतिशत हामी ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा जम्मा गर्नेछौँ ।”

यो सहयोगलाई केवल प्रचारका लागि गरिएको घोषणा नभई विपत्तिको समयमा आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोगका रूपमा लिएको उनको भनाइ छ ।

“कतिपयलाई लाग्न सक्छ, देशमा यस्तो विपत्ति छ, यस्तो बेला फिल्म किन ल्याउने? तर हाम्रो मान्यता के हो भने, विपत्तिको घडीमा आफ्नो काम (चलचित्र) पछि सारेर भाग्नुभन्दा, हामी जे कर्म गरिरहेका छौँ, त्यही कर्ममार्फत नै पीडितहरूलाई केही हदसम्म मद्दत पुगोस् र घाउमा मल्हम लागोस् भन्ने हाम्रो उद्देश्य हो । हामी भाग्ने होइन, आफ्नो कामबाटै सहयोग गर्न चाहन्छौँ,” पोखरेल भन्छन् ।

उनले अघि भने,”साढे तीन करोडको लगानीमा यो फिल्म बनेको छ । यो हाम्रो लागि ठूलो जोखिम पनि हो, तर व्यापार मात्र ठूलो कुरा होइन । यस्तो संकटको बेला समाज र देशप्रतिको उत्तरदायित्व पनि हामीले बिर्सनु हुँदैन भन्ने हामीलाई महसुस भयो ।”

चलचित्र प्रदर्शनले निरन्तरता पाउने र त्यसबाट हुने आम्दानीको निश्चित हिस्सा राहतका लागि छुट्याउँदा मनोरञ्जनसँगै सामाजिक दायित्व पनि पूरा हुने निर्माण पक्षको विश्वास छ । टिमका अनुसार अहिलेको अवस्थामा आफूहरूले गर्न सक्ने सहयोग चलचित्रकै माध्यमबाट गर्न खोजिएको हो ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको ‘बेहुली’का निर्देशक सशान कँडेल हुन् । यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुत कर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्‌ । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।

चलचित्रमा पारस बम ठकुरी (कुल ब्वाय), दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।