‘बेहुली’को ट्रेलरमा प्रेम, सम्बन्ध र द्वन्द्वको कथा
काठमाडौं । प्रदर्शनको सँघारमा रहेको नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको निर्माण पक्षले आइतबार काठमाडौंस्थित जय नेपाल हलमा एक कार्यक्रममाबीच चार मिनेट लामो ट्रेलरले सार्वजनिक गरेको हो ।
प्रेम, पारिवारिक सम्बन्ध, मित्रता र भावनात्मक उतारचढावलाई केन्द्रमा राखिएको ट्रेलरमा विभिन्न पात्रबीचको सम्बन्ध र त्यसबाट सिर्जना हुने परिस्थितिलाई प्राथमिकता दिइएको छ । निर्माणपक्षले टिजर सार्वजनिक नगरी सिधै दर्शकमाझ ट्रेलर ल्याएको हो ।
ट्रेलरको मुख्य आकर्षण पारस बम ठकुरी र दिव्या रायमाझी देखिएका छन् । सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस र दिव्याबीचको प्रेम सम्बन्धलाई ट्रेलरमा रोचक ढंगले प्रस्तुत गरिएको छ । उनीहरूको केमेस्ट्रीसँगै कथाले लिने मोडबारे पनि ट्रेलरले केही संकेत गरेको छ ।
यता, सुशान्त कार्की प्रहरीको भूमिकामा प्रस्तुत भएका छन् । उनले यही चलचित्रबाट करिब ८ वर्षपछि कमब्याक गरेका हुन् । पदम तामाङको हास्य प्रस्तुति र सन्तोष बानियाको फरक शैलीको अभिनयले ट्रेलरमा मनोरञ्जनसँगै गम्भीरताको मिश्रण थपेको छ ।
सशान कँडेलको निर्देशनमा बनेको यस चलचित्रमा पारस, दिव्या, सुशान्त, पदम र सन्तोषको साथमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन् । प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता छन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।
माधव शर्माको लेखन रहेको यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहाल र बनिष शाहको सम्पादन, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशन रहेको चलचित्रमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक छन् ।
चलचित्रको काठमाडौं उपत्यकाभित्रको वितरण काफिया फिल्म्स र उपत्यकाबाहिरको वितरण श्री व्यंकटेश इन्टरटेन्मेन्टले गर्नेछ ।





