‘कार्की साइँला’को ट्रेलरमा भारी बोक्नेको पीडा र सन्तानको सपना
काठमाडौं । चलचित्र ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ । संविधान दिवसको अवसर पारेर आगामी असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको निर्माण टिमले मंगलबार ३ मिनेट १९ सेकेन्डको ट्रेलर रिलिज गरेको हो ।
ट्रेलरमा चलचित्रको कथावस्तु, मुख्य पात्रको जीवन भोगाइ र त्यसमा जोडिएको पक्षलाई देखाइएको छ । जसमा एउटा गरिब भरियाको जीवन, उसको संघर्ष, प्रेम र सामाजिक अपमानको सजीव चित्र प्रस्तुत गरिएको छ ।
ट्रेलरको सुरुवात पहाडी भेगको सुन्दर तर विकट भूगोलबाट हुन्छ, जहाँ ‘कार्की साइँला’ (जितु नेपाल) अरूको भारी बोकेर आफ्नो जीविकोपार्जन गरिरहेका छन् । ट्रेलरमा उनलाई एउटा इमानदार र सहयोगी पात्रका रूपमा देखाइएको छ, जो गाउँमा नयाँ आएकी युवती (प्रियाना आचार्य) को भारी सित्तैमा बोकिदिन्छन् । पछि उनीहरूबीचको प्रेम र विवाहलाई ट्रेलरले सुन्दर ढंगमा प्रस्तुत गरेको छ ।
यद्यपि, चलचित्रको मुख्य द्वन्द्व भने सन्तान प्राप्तिमा जोडिएको देखिन्छ । ट्रेलरको मध्य भागमा आउँदा कार्की साइँलाको वैवाहिक जीवनमा आएको उतारचढाव र सन्तान नभएको कारण उनले समाजबाट भोग्नुपरेको हेपाइलाई देखाइएको छ । ट्रेलरमा एउटा संवाद छ- “महिलाले जहाँ रोए पनि हुन्छ, तर एउटा छोरा मान्छेले रुनका लागि कसैले नदेख्ने र नसुन्ने एकान्त ठाउँ नै खोज्नुपर्ने रहेछ ।” यो संवादले पुरुषको आन्तरिक पीडा र सामाजिक बाध्यतालाई प्रहार गरेको छ ।
राजेन्द्र बस्नेतको निर्देशनमा तयार भएको यस चलचित्रमा जितु र प्रियानाका साथै सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय छ ।
डम्बर राईको कथामा बनेको यस चलचित्रको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन् ।
बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता अनन्त राई हुन् । दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको चलचित्रको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यस चलचित्रलाई कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।




