दिव्याको भविष्य निर्धारण गर्ने चलचित्र ‘बेहुली’

काठमाडौं । ‘पिताम्बर’ होस् वा ‘एक्टर : टेक वान’ अथवा ‘राम नाम सत्य’, दिव्या रायमाझीलाई यी चलचित्रबाट ठूलो आशा थियो । बक्स अफिसमा यी चलचित्र हिट हुन्छन् भन्ने उनलाई आशा थियो ।

‘पिताम्बर’मा स्टारहरूको ग्याङ नै थियो । ‘एक्टर’मा प्रदीप खड्का थिए । ‘राम नाम सत्य’मा ‘१२ गाउँ’जस्तो हिट सिनेमा दिएका विराज भट्ट थिए ।

त्यसैले यी सबै चलचित्रबाट दिव्यालाई ठूलो आशा थियो । ‘राम नाम सत्य’मा त उनी आफैँले यो सिनेमामा आफ्नो फरक खालको भूमिका रहेको र यो आफ्ना लागि विशेष हुने बताएकी थिइन् । तर, दुर्भाग्य यो सिनेमा विशेष बनेन । उनका लागि खास सिनेमा बनेर आएन ।

यी तीनवटै सिनेमा महिला चरित्रप्रधान सिनेमा थिएनन् । त्यसैले यी चलचित्रको व्यापारको भारी पनि दिव्याको काँधमा थिएन । यी सिनेमा बक्स अफिसमा हिट भइदिएको भए मात्रै पनि उनको फिल्मोग्राफीमा हिट सिनेमा हुनेथियो ।

तर, यी सिनेमाले बक्सअफिसमा राम्रो कलेक्सन गर्न नसक्दा दिव्याको फिल्मोग्राफी पनि अब कसरी अगाडि बढ्ने हो भन्ने प्रश्न उठेको छ ।

स्टार किड्सलाई सिनेमा उद्योगमा डेब्यू गर्न खासै कठिन हुँदैन । तर, टिक्न भने निकै कठिन हुन्छ । किनकी उनीहरूको कामको सिधै तुलना उनीहरूका आमाबुवासँग हुन्छ, जसले दशकौँ लगाएर आफूलाई निखारेका हुन्छन् । दशकौँको अनुभवबाट आएका कलाकारसँग नयाँ कलाकारको काम तुलना हुँदा, अफ्ठ्यारो पक्कै हुन्छ, त्यसैले मेहनत पनि त्यही अनुसारको गर्नुपर्छ ।

दिव्यालाई पनि सिनेमामा डेब्यु गर्न कठिन भएन । दिलिप रायमाझीकी छोरी भएकै कारण उनले चलचित्रमा सहजै डेब्यू गरिन् । तर, अब यो सिनेमा उद्योगमा उनी आफ्नै अभिनय कलाले उभिनुपर्छ । आफ्नै अभिनय क्षमताले अन्य नायिकाहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

दिव्या अब यही हप्ताबाट चलचित्र ‘बेहुली’मार्फत दर्शकमाझ आउँदैछिन् । सशान कँडेलको निर्देशन रहेको यो चलचित्रमा उनले कुल ब्वाईसँग स्क्रिन सेयर गरेकी छन् ।

यो सिनेमाले उनको सिने यात्रामा जटिलता थप्ने हो वा थप सहज र सरल बनाउने निर्धारण गर्नेछ । किनकी लगातार सिनेमा असफल हुँदै गएपछि निर्देशक निर्माताहरू आफ्नो चलचित्रमा त्यस्ता कलाकारलाई लिन हिचकिचाउँछन् । त्यसैले दिव्याको भविष्यसँग उनको यो चलचित्र ‘बेहुली’ जोडिएको छ भनेर भन्न सकिन्छ ।