किन ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ भन्दा ‘छ माया छपक्कै २’ एक दिन ढिलो प्रदर्शन हुने भयो ?
काठमाडौं । चलचित्र ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ असोज ३० गते एकै दिन रिलिज हुँदा ‘छ माया छपक्कै २’ भने एक दिन पछि असोज ३१ गतेबाट रिलिज हुने भएको छ ।
अब यही दशैँमा आउने भनेका ‘बाटुलो जुन’ र ‘डबल ट्रिपल’ कुन डेटमा आउने हुन् निश्चित छैन । यही मतिमा वा अरु नै मितिमा आउने हुन् निश्चित छैन ।
चलचित्र ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ असोज ३० गते शुक्रबार रिलिज हुन लागेका हुन् । ‘छ माया छपक्कै २’ भने एक दिन पछि परेको फूलपातीका दिनबाट रिलिजमा आउने भएको हो । प्रायः दशैँमा आउने दीपकका सिनेमा फूलपातीकै दिन आउने गरेका छन् ।
चलचित्र ‘छ माया छपक्कै–२’मा दीपकराज गिरीसँगै केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन् ।
यो चलचित्र आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतिमा निर्माण भएको हो । अघिल्लो भाग ‘छ माया छपक्कै’मा दीपकराज गिरी र केकी अधिकारीको जोडी देखाइएको थियो ।
दोस्रो श्रृंखलामा पनि यो जोडीलाई निरन्तरता दिइएको छ भने यसपटक सनिशा भट्टराई पनि चलचित्रको मुख्य कलाकारका रूपमा जोडिएकी छन् ।
यस चलचित्रमा कार्म शाक्य, रिहान गिरी, रविन्द्र झालगायत कलाकारको पनि अभिनय छ । जितु नेपालको छोटो भूमिका रहने बताइएको छ ।
सामाजिक–राजनीतिक कथावस्तुमा निर्माण भएको चलचित्रको पटकथा दीपकराज गिरी र दीपेन्द्र लामाले लेखेका हुन् । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् भने सुशन प्रजापतिले छायांकन गरेका छन् ।
यो चलचित्रको निर्माता रोहित अधिकारी हुन् भने कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन् ।
यता, अभिनेता विराज भट्टको निर्देशन रहेको चलचित्र ‘१२ गाउँ २’मा समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’ तथा विराज मुख्य भूमिकामा छन् ।
बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस सिनेमाको कथा सन्तोष सरकारले लेखेका हुन् । छायांकन महेश पौडेलले गरेका छन् ।
सरस्वती भट्टको लगानी रहेको यो सिनेमामा समीर र कृशुसहित निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। यसै सिनेमाबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।
बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
यसैबीच, चलचित्र ‘आ बाट आमा’को दोस्रो श्रृंखला ‘आ बाट आमा २’मा पल शाहसँगै प्रदीप रावत, विपना थापा, साइग्रेस पोखरेल, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडा लगायतको मुख्य भूमिका छ ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्र आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हो । चलचित्रको सम्पादन साहिल खान र मिलन श्रेष्ठदे गरेका हुन् ।
‘आ बाट आमा २’ को कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले तयार पारेका हुन् ।




