अघिल्ला सिरिजको झल्को दिँदै कथा लुकाएको ‘कबड्डी ५’को टिजर

काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ । साढे ३ मिनेट लामो टिजरमा दयाहाङ राई, विजय बराल र बुद्धी तामाङ केन्द्रमा छन् ।

टिजरले अघिल्ला सिरिजकै फल्लेबर दिन्छ । पात्र, कथा र प्रस्तुतिमा अघिल्ला सिरिजको झल्को दिन्छ ।

टिजरमा सिनेमाका मुख्य कलाकार बिके (विजय बराल)को एआईसँग गरेको संवाद रमाइलो छ । काजी (दयाहाङ राई) र मैयाको इन्ट्री छ । सिनेमामा मैयाको भूमिकामा सिर्जना गुरुङले अभिनय गरेकी छन् ।

अभिनेता विपीन कार्कीको इन्ट्रीले टिजरलाई रोचक बनाएको छ । उनको संवाद बोल्ने शैलीले फरक देखिएको छ । अन्तिममा रिश्मा गुरुङको इन्ट्रीसँगै टिजर सकिन्छ । टिजरमा अधिकांश पात्र छन् । उनीहरुको मुभ देखिन्छ । तर, कथा के हो प्रस्ट बुझिँदैन । निर्देशकले सस्पेन्स क्रिएट गरेका छन् ।

निर्देशक गुरुङले सिनेमामा अघिल्लो शृंखलाकै कथालाई निरन्तरता दिइएको बताएका छन् । सिनेमा यस वर्ष दशैंको पर्सिपल्ट कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन् । यी कलाकारसहित पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुधाथोकी, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

‘कबड्डी ४ः द फाइनल म्याच’मा मुख्य भूमिकामा देखिएकी अभिनेत्री मिरुना मगरलाई भने सिनेमाका प्रचार सामग्रीमा लुकाइएको छ । सिनेमामा उनको भूमिका के–कस्तो भन्ने खुलाइएको छैन ।

यसअघि सार्वजनिक गरिएको पोस्टरमा पनि लाई लुकाइएको थियो भने सोमबार सार्वजनिक टिजरमा पनि मिरुनाको मैया पात्र लुकाउँदै दर्शकमाझ कौतुहल्ता जगाउन खोजिएको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन छ ।

सिनेमालाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले वितरण गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।