भुवन केसी र अशोक शर्मा किन मौन ?
काठमाडौं । दशैँ आउन अब धेरै समय छैन । हरेक वर्षको दशैँ सिनेमाका लागि विशेष हुने गर्छ । यो वर्ष पनि विशेष हुनेछ ।
दशैँमा आउने सिनेमाले प्रचार सुरु गरेका छन् । ‘१२ गाउँ २’, ‘छ माया छपक्कै २’, ‘आ बाट आमा २’, ‘कबड्डी ५’ले प्रचार सुरु गरेका छन् । सिनेमाका कन्टेन्ट फाल्न सुरु गरेका छन् ।
पोस्टर, गीत, टिजर फाल्न सुरु गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो सिनेमाको प्रचार कलाकार, निर्देशक, निर्माताले सुरु गरेका छन् ।
तर, यही दशैँमा आउने भनेर प्रचार गरिएका सिनेमा ‘डबल ट्रिपल’ र ‘बाटुलो जुन’को अत्तोपत्तो छैन । न रिलिज डेट सारेको जानकारी छ, न त पोस्टर, टिजर, ट्रेलर र गीत न आइरहेका छन् ।
भुवन केसी निर्देशक रहेको ‘बाटुलो जुन’ र अशोक शर्मा निर्देशक रहेको ‘डबल ट्रिपल’ अहिलेसम्म गुमनाम छन् । ‘बाटुलो जुन’मा अनमोल केसी मुख्य भूमिकामा छन् । ‘डबल ट्रिपल’मा दयाहाङ राई, खगेन्द्र लामिछाने, केही अधिकारी, मिरुना मगरलगायत छन् ।
‘बाटुलो जुन’ र ‘डबल ट्रिपल’को मौनता देखेर यो अनुमान लगाउन सकिन्छ, यो दशैँमा यी सिनेमा आउँदैनन् । यदि, दशैँमा रिलिज हुने भए सँगै रिलिज हुने सिनेमाको प्रचार सुरु भइसक्दा, एक खालको हाइप बनिसक्दा, दर्शकले जानकारी पाइसक्दा ती सिनेमासँग प्रतिस्पर्धा गर्ने सिनेमा मौन रहन्थे होला र ?
त्यसो त ‘१२ गाउँ २’, ‘छ माया छपक्कै २’, ‘आ बाट आमा २’, र ‘कबड्डी ५’ गरी चारवटा सिनेमा दशैँमा आउने पक्का भइसक्यो । चारवटा सिनेमा आउने भएपछि अरू सिनेमा थपिँदा शो धेरै पाउने सम्भावना रहँदैन । शो धेरै नपाएपछि इनिशियल राम्रो व्यापार गर्ने सिनेमाको पनि त्यो सम्भावना रहँदैन ।
शो बाँडिने डरले पनि ‘बाटुलो जुन’ र ‘डबल ट्रिपल’ पछि हट्न लागेका पो हुन् कि । यदि, हो भने पनि यो निर्णय नराम्रो होइन, यो थप स्वागतयोग्य हो ।




