दशैँ छाडेर तिहारपछि पुग्यो ‘बाटुलो जून’

काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी कात्तिक २६ गते प्रदर्शनमा आउने घोषणा गरेको हो ।

प्रदर्शन मिति परिवर्तनसँगै अब चलचित्र भाइटीकाको भोलिपल्टदेखि दर्शकमाझ आउने भएको छ । यसअघि दशैँको अवसर पारेर चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, दशैँको समयमा एकैपटक धेरै नेपाली चलचित्र प्रदर्शनमा आउने भएपछि ‘बाटुलो जून’लाई तिहारको समयका लागि सारिएको निर्माण टिमको भनाइ छ ।

चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दै निर्देशक भुवन केसीले नेपाली चलचित्रबीच अस्वस्थ प्रतिस्पर्धाभन्दा सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘यसअघि दशैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दशैँमा अन्य चार चलचित्र पनि प्रदर्शनमा आउने र थप अर्को चलचित्र पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ । भिडेर जान भन्दा पनि मिलेर जानमा नेपाली चलचित्र उद्योगको भलाइ छ ।’

प्रदर्शन मिति घोषणा गर्न सार्वजनिक गरिएको नयाँ पोस्टरमा अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन् । पोस्टरमा अनमोलको लुक्सले पुरानो समय अर्थात् ५० को दशकको झल्को दिन्छ ।

पोस्टरको पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशमा टहटह देखिएको जूनले चलचित्रको कथाको परिवेश र दुई पात्रबीचको आत्मीय सम्बन्धतर्फ संकेत गर्छ । सार्वजनिक सामग्री हेर्दा चलचित्र ग्रामीण परिवेशमा आधारित प्रेमकथामा निर्माण भएको अनुमान गर्न सकिन्छ ।

अनमोल र प्रिन्सीको जोडीलाई केन्द्रमा राखिएको पोस्टरले चलचित्रमा प्रेमसँगै पुरानो समयको परिवेश, सम्बन्ध र भावनात्मक पक्षलाई पनि प्राथमिकता दिइएको संकेत गर्छ ।

‘बाटुलो जून’लाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन् । यस चलचित्रमार्फत भुवनले निर्देशनमा आफ्नो फरक कथावाचन प्रस्तुत गर्ने तयारी गरेका छन् । चलचित्रमा उनका छोरा अनमोल केसी मुख्य भूमिकामा छन् भने प्रिन्सी खतिवडा उनको जोडीका रूपमा प्रस्तुत भएकी छन् ।

सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता जीया केसी र भविष्य खड्का हुन् । विवेक थापा सह–निर्माताका रूपमा छन् ।

चलचित्रको कथा तथा पटकथामा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको छ ।

‘बाटुलो जून’मा अनमोल केसी र प्रिन्सी खतिवडासँगै निर्देशक भुवन केसी स्वयं पनि अभिनयमा देखिनेछन् । चलचित्रमा नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटीलगायत कलाकारको अभिनय रहेको छ ।

निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरले चलचित्रको कथावस्तु र परिवेशबारे केही संकेत गरे पनि फिल्मको विस्तृत कथावस्तु भने गोप्य राखेको छ ।