‘बाटुलो जून’को टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
काठमाडौं । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएसँगै चर्चामा आएको छ ।
अभिनेता अनमोल केसी स्टारर चलचित्रको टिजर सामाजिक सञ्जालमा लोकप्रिय बनिरहँदा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा समेत पुग्न सफल भएको छ ।
शुक्रबार सार्वजनिक भएको ‘बाटुलो जून’को टिजर रिलिजको तीन दिनमै युट्युबको फिल्म चार्टअन्तर्गत नेपालमा पहिलो स्थानमा आएको हो । नेपालसँगै एक दर्जनभन्दा बढी देशमा टिजर ट्रेन्डिङमा रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रले सन् १९३० को दशकमा आधारित प्रेमकथा प्रस्तुत गरेको छ । आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरिएको छ ।
प्रविधिमैत्री र तीव्र गतिमा परिवर्तन भइरहेको पछिल्लो पुस्ताको प्रेमकथाभन्दा फरक तत्कालीन समाजको परिवेशलाई चलचित्रले कथानकमा समेटेको छ ।
चलचित्रलाई भुवन केसीले निर्देशन गरेका हुन् । अनमोल केसीसँगै प्रिन्सी खतिवडा प्रमुख भूमिकामा छन् । टिजरमा देखिएको अनमोलको गेटअप, संवाद वाचन शैली र अभिनयलाई दर्शकले रुचाएका छन् । डेब्यु अभिनेत्री प्रिन्सीको उपस्थितिले पनि दर्शकको ध्यान खिचेको छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको ‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा रहेका छन् ।
चलचित्र ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह–निर्माता रहेका छन् ।





