फूलपातीको अवसर पारेर ‘छ माया छपक्कै २’ आजबाट प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै २’ आजबाट प्रदर्शनमा आएको छ । दशैँको बिदालाई लक्षित गर्दै ‘छ माया छपक्कै २’ आजबाट प्रदर्शनमा आएको हो ।

प्रायः दीपकराज गिरी दसैँमा आउँदा फूलपातीको दिन सिनेमा रिलिज गर्दै आएका छन् । त्यसैले उनले यसपटक पनि अरुले भन्दा एकदिन पछि फूलपातीबाट रिलिज गरेका हुन् ।

दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।

सिनेमामा विश्वास, प्रेम, सन्तानत सुख, छटपटी, विश्वास, आशा, सम्पत्तिको आडमा बनाइएको सम्बन्ध, छलकपट र धोकाको सेरोफेरोमा सिनेमाको कथा रहेको यसको ट्रेलरले संकेत गरिसकेको छ ।

दीपकराज गिरी यो सिनेमामा पठाओ चालकको भूमिकामा रहेका छन् ।

रोहित अधिकारी निर्माता रहेको चलचित्रमा मेक्सम गौँडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मा, प्रकाश घिमिरे, कर्मालगायत कलाकारको पनि अभिनय रहेको छ ।