डिगो एपमा ‘लालीबजार’

काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ ।

आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’ लाई डिगो एपमार्फत विश्वभर एकसाथ रिलिज गरिएको छ । षट्कोण आट्र्सको निर्माण रहेको फिल्मलाई विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने छन् ।

नेपालबाहिर नेपाली बसोबास गर्ने सबै देशमा प्रदर्शन हुन नसकेको फिल्मलाई डिगो एपमार्फत विश्वभर रहेका नेपाली दर्शकमाझ पुर्‍याईएको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए ।

‘विविध कारणले हामीले फिल्मलाई विदेशमा धेरै स्थानमा प्रदर्शन गर्न सकेका थियानौं । सोही कारण हामी ओटीटीमार्फत नेपालसँगै विदेशमा रहनुभएका नेपाली माँझ पुगेका छौँ ।

हामीलाई सामाजिक सञ्जालमार्फत फिल्म प्रदर्शनबारे निरन्तर जिज्ञासा आइरहेको थियो । फूलपातीदेखि डिगो एपमार्फत विश्वभर रहेका नेपालीमाझ फिल्म पुगेको छ, हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला’, निर्माता बानियाँले भने ।

उनले षट्कोण आट्र्सका फिल्म सामाजिक दायित्वसँगै मनोरञ्जनलाई प्राथमिकतामा राखेर निर्माण गरिने भएकाले ‘लालीबजार’ सबै उमेरसमूहका दर्शकका लागि एउटा सिकाइ पनि हुने विश्वास व्यक्त गरे ।

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन् ।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।