‘उही तिम्रो…’ भन्दै प्रदीपले सार्वजनिक गरे प्रेमिका !
काठमाडौं । अभिनेता प्रदीप खड्का अब प्रेम लुकाउने मुडमा छैनन् कि क्या हो ! लामो समयदेखि निजी जीवनलाई पर्दाभित्रै राख्दै आएका उनले अन्ततः प्रेमिकालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । त्यो पनि कुनै औपचारिक घोषणा गरेर होइन, प्रेमले भरिएको जन्मदिनको शुभकामना दिएर ।
प्रदीपले इन्स्टाग्राममा प्रेमिकासँग जोडिएको भावुक सन्देश लेख्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् । उनको शुभकामनाका शब्दमा प्रेम मात्रै छैन, सम्बन्धप्रतिको गहिरो आत्मीयता र सँगै जीवन बिताउने चाहनाको झल्कोसमेत छ ।
उनले लेखेका छन्, ‘केही सम्बन्धहरूमा सुन्दरता मात्र होइन, एउटा छुट्टै शान्ति पनि लुकेको हुन्छ । तिम्रो जन्मदिनमा यति मात्रै प्रार्थना छ– तिम्रो जीवन सधैँ खुसीले भरियोस् अनि तिम्रो जीवनमा आउने हरेक सुन्दर दिनहरूमा कतै न कतै मेरो पनि सानो उपस्थिति रहिरहोस् । जन्मदिनको धेरै धेरै शुभकामना । उही तिम्रो…’
प्रदीपको यही एउटा सन्देशले सामाजिक सञ्जालमा नयाँ कौतुहलता जन्माएको छ । पर्दामा रोमान्टिक भूमिकामा देखिँदै आएका प्रदीप वास्तविक जीवनमै कसैको प्रेममा छन् भन्ने संकेत त यसअघि पनि मिल्थ्यो, तर यसपटक उनले आफ्नै शब्दमार्फत सम्बन्धको झल्को दिएका छन् ।
अब प्रश्न छ– प्रदीपको प्रेमकथा कति पुरानो हो ? र, अहिलेसम्म चर्चाबाट टाढा राखिएको यो सम्बन्धलाई अब खुलस्त सार्वजनिक गर्न थालेका हुन् ?


