‘आ बाट आमा २’भन्दा ‘कबड्डी ५’ दोब्बरले अगाडि

काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा सबैभन्दा अगाडि देखिएको छ । प्रदर्शनको चार सातामा रहेको चलचित्रले १२ करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको छ ।

दसैँमा रिलज भएको बक्सअफिसमा दोस्रो स्थानमा रहेको चलचित्र ‘आ बाट आमा २’ भन्दा ‘कबड्डी ५’ दोब्बरले अगाडि रहेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस विवरणअनुसार कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५’ले कात्तिक २२ गतेसम्म १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा चलचित्रका ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्री भएका छन् ।

दसैंमा प्रदर्शनमा आएका चलचित्रमध्ये दोस्रो स्थानमा ‘आ बाट आमा २’ रहेको छ । बोर्डको तथ्यांकअनुसार चलचित्रले आइतबारसम्म ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रका २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन् ।

यसरी हेर्दा दसैंका चार चलचित्रमध्ये ‘कबड्डी ५’ले ‘आ बाट आमा २’भन्दा झन्डै दोब्बर कमाइ गरेको छ ।

‘आ बाट आमा–२’मा पलसँगै विपना थापा, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेललगायत कलाकारको अभिनय छ । चन्द्र पन्तले निर्देशन गरेका छन् ।

‘कबड्डी–५’मा दयाहाङ राई, विपीन कार्की, सिर्जना गुरुङ, रिश्मा गुरुङ, मिरुना मगर, विजय बराल र बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।