‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने, कोरियाली अभिनेत्रीको जोडी बन्दै अरुण

काठमाडौं । नेपाली र दक्षिण कोरियाली चलचित्रकर्मीको सहकार्यमा अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । रोमान्टिक कमेडी र सुपरनेचुरल कथावस्तुमा आधारित यस चलचित्रमा नेपाली अभिनेता अरुण क्षेत्री मुख्य भूमिकामा देखिने भएका छन् ।

बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको संयुक्त सहकार्यमा बन्न लागेको चलचित्रलाई दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङले निर्देशन गर्नेछिन् । नेपाली पक्षबाट काठमाडौँ फिल्म्सका संस्थापक चन्दन झा सहनिर्माताका रूपमा जोडिएका छन् ।

के-ड्रामाको शैली र स्वादसमेत समेटिने चलचित्रको कथा पूर्व के-पप स्टार र युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्धमा केन्द्रित हुनेछ । प्रेम, हास्य र रहस्यको मिश्रण रहने कथाले आधुनिक सेलिब्रेटी संस्कृति र नेपालको आध्यात्मिक परिवेशलाई फरक ढंगले जोड्ने निर्माण पक्षको भनाइ छ ।

चलचित्रमा अरुणले पुरुष मुख्य पात्रको भूमिका निर्वाह गर्नेछन् । महिला मुख्य भूमिकामा भने दक्षिण कोरियाली अभिनेत्री रहनेछिन् । उनको नाम भने केही समयपछि सार्वजनिक गरिने निर्देशक ह्वाङले जानकारी दिएकी छन् ।

हिमाल र पदयात्रालाई केन्द्रमा राखेर बनाइने नेपाली कथाभन्दा फरक शैलीमा प्रस्तुत हुने यस चलचित्रले नेपालको आध्यात्मिक जीवन र आधुनिक समाजबीचको सम्बन्धलाई अलौकिक प्रेमकथामार्फत पर्दामा उतार्नेछ । प्रेम, पहिचान र मानिसको बाहिरी आवरण तथा वास्तविकताबीचको अन्तर पनि कथाका प्रमुख पक्ष रहनेछन् ।

निर्देशक ह्वाङले नेपालसँग आफ्नो पुरानो आत्मीय सम्बन्ध रहेको बताएकी छन् । पटक–पटक नेपाल भ्रमण गर्ने क्रममा यहाँको प्राकृतिक सौन्दर्य, मौलिकता र आध्यात्मिक वातावरणबाट प्रभावित भएको उल्लेख गर्दै उनले आफ्नो सिनेम्याटिक दृष्टिकोणबाट नेपालको फरक पक्षलाई विश्वसामु प्रस्तुत गर्न चाहेको बताएकी छन् ।

चलचित्रको निर्माण टोलीमा निर्देशक तथा लेखक बोइम ह्वाङ, सहनिर्माता चन्दन झा, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल र क्रिएटिभ तथा कास्टिङ डाइरेक्टरका साथै भाषा, अभिनय र पात्र निर्माण प्रशिक्षक उत्पल झा रहेका छन् ।

नेपाल र दक्षिण कोरियाबीचको सांस्कृतिक तथा सिर्जनात्मक सम्बन्धलाई चलचित्रमार्फत थप विस्तार गर्ने उद्देश्य राखिएको निर्माण पक्षले जनाएको छ । विश्वव्यापी थिएटर प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरी निर्माण गर्न लागिएको चलचित्र नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकमाझ पुर्‍याउने योजना छ । त्यसपछि विभिन्न स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत प्रदर्शन गर्ने तयारी रहेको सहनिर्माता चन्दन झाले बताएका छन् ।

चलचित्रको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि नेपालमा सुरु गर्ने प्रारम्भिक योजना छ । मार्चसम्म छायाङ्कन जारी रहनेछ । दक्षिण कोरियाली अभिनेत्री, अन्य कलाकार तथा निर्माण टोलीका थप सदस्यबारे आगामी दिनमा जानकारी सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।