सस्तो प्रचारबाजीले उकालो यात्रा गराउँदैन, ओरालो नै लगाउँछ भन्ने हेक्का रहोस्
नेपाली सिनेमा उद्योगमा चलचित्र चलाउन अनेक फण्डाबाजी हुन्छन् । यो रजतपटमा रुनेदेखि हुँदै नभएका काम गरेर दर्शकलाई भ्रममा राख्ने प्रयास गर्नु सामान्यजस्तै भइसकेको छ ।
सतहमा देखिँदा एउटा तर भित्री वास्तविकता अर्कै हुन्छ । अथवा बाहिर देख्दा मारामार, तर भित्र योजना बनाएरै सबै भइरहेको हुन्छ । तर, दर्शक भने पूर्णतः भ्रममा हुन्छन् । दर्शकलाई भ्रममा पारेर त्यसको सेम्पेथी बटुलेर सिनेमा चलाउने रणनीतिक योजना हुन्छ ।
केही दिनअगाडिको घटना, ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार पक्राउको नाटक गरियो । सक्कली प्रहरीको सक्कली प्रहरी भ्यान आयो । त्यहाँ रहेका प्रहरीले स्टेजमा बोलिरहेका कलाकारलाई पक्रेर लग्यो ।
पछि कलाकार पक्राउ परेको भन्दै समाचार आए । अनि निर्माण टिमले भन्यो, यो त हाम्रो प्रचारको योजना थियो ।
सिनेमाको प्रचारका लागि प्रहरीको सक्कली भ्यान किन ? भन्दै विरोध हुन थालेपछि सिनेमाको छायांकन थियो भनियो । त्यति मात्रैले फेस सेभिङ नहुने भएपछि सञ्चारमाध्यमले गतल तरिकाले समाचार लेखिदिए भनियो ।
निर्माण टिमले सञ्चारमाध्यमलाई हाम्रो सिनेमाको छायांकन र ट्रेलर लञ्च एकैदिन छ, हामी कलाकारलाई पक्राउ गरेको दृश्य छायांकन गर्दैछौँ भनेर जानकारी दिइएको थियो ?
थियो भने ठिक छ, होइन भने सञ्चारमाध्यमले गलत समचार लेखे भनेर गल्ती अर्काको टाउकोमा पन्छाइदिन मिल्छ ?
सञ्चारमाध्यमले आफ्नो प्लेटफर्म दुरुपयोग गरेको भनेर कानुनी उपचार खोजे भने के हुन्छ ? सिनेमामा बैंक लुट्ने कथा छ, त्यही भएर यस्तो गर्यौं भनेर उम्किन मिल्छ ?
कमजोर राज्य र प्रशासन भएको फाइदा हो यो । होइन भने यो यत्तिकै सामसुम हुने विषय होइन । यो योजना बनाउने र त्यसमा हौसिएर प्रयोग हुने कलाकार दुवै यसका जिम्मेवार हुन् ।
यसै पनि सिनेमा उद्योगमा हुने अनेक फण्डा देखेर दर्शक हैरान भइसकेका छन् । अब प्रशासनलाई पनि त्यही अवस्थामा पुर्याउने हो ?
यस्तै हो भने राज्यले सिनेमा उद्योगलाई सहजीकरण गर्नेभन्दा पनि थप शंकाको दृष्टिले हेर्नसक्छ । त्यसैले सस्तो प्रचारबाजी होइन, अलि गम्भीर भएर सोच्ने गरौँ । सस्तो प्रचारबाजीले उकालो यात्रा गराउँदैन, ओरालो यात्रातिर नै धकेल्ने हो ।



