आफ्नै स्तर गिराउने गरी आरोप-प्रत्यारोपमा नउत्र

नेपाली चलचित्र उद्योगमा आरोप–प्रत्यारोप, रिस, द्वेष र इगो सामान्य हो । एकले अर्कोको आलोचना सार्वजनिक कार्यक्रम र मिडियामै आएर गर्नु, सिनेमामा सहकार्य नगर्नु, चलचित्र रिलिज गर्दा जुधाउनु नौलो होइन । नौलो होइन तर नौलो नलागेको मात्रै हो । कारण यो नेपाली चलचित्र उद्योगका लागि ‘युज टु’ भइसक्यो ।

तर, यथार्थमा यो आफैँमा खराब हो । यसको ठूलो असर पर्छ, परिरहेको छ । यही प्रवृत्तिका कारण यो दसैँको फूलपातीमा एकै दिन ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ रिलिज भए । सायद यो प्रवृत्ति हावी हुँदैन थियो त यी चलचित्र फरक फरक मितिमा रिलिज हुने थिए ।

यसको फाइदा अरुलाई होइन, यसकै निर्माणपक्षले उठाउने थियो । एकैपटक रिलिज हुँदा र दुईवटै सिनेमा हाउसफूल हुँदा पनि रेकर्ड ब्रेकिङ कलेक्सन गरिरहेका छन् । दीपकराज गिरीका अनुसार यो ‘छक्का पञ्जा–५’ले सिरिजकै कलेक्सनको रेकर्ड ब्रेकिङ कलेक्सन गरिरहेको छ । ‘१२ गाउँ’ले पनि विराजको सिनेमा करियरमै कीर्तिमानी कमाइ गरिरहेको छ ।

यी दुई चलचित्र फरकफरक समयमा आएको भए यी चालचित्रले कति कलेक्सन गर्थे होला ? यकिन तथ्यांक त यसको हुँदैन । तर अनुमान चाहिँ लगाउन सकिन्छ, यी दुवै चलचित्रको ब्यापारको आंकडामा ठूलो फरक देखिने थियो ।

चलचित्र मात्रै जुधेनन् । यसका कलाकार र निर्माता पनि प्रत्यक्ष÷परोक्षरूपमा एकअर्काविरुद्ध उत्रिरहेका छन् । ‘साइबर सेना’ प्रयोग गरिएको भन्दै ‘छक्का पञ्जा’ टिमले ‘१२ गाउँ’को टिमलाई आरोप लगायो । आफ्नो गीत, ट्रेलर, टिजर, पोस्टर र फेसबुक पोस्टमा समेत छिरेर ‘१२ गाउँ’का साइबर सेनाले गाली गरिरहेको ‘छक्का पञ्जा–५’का कलाकार दीपकराज गिरी, केदार घिमिरेले आरोप लगाए ।

विराज भट्टले ‘१२ गाउँ’ हेरौँ भन्ने व्यक्ति साइबर सेना नभएर दर्शक भएको बताए । उनले आफ्नो सिनेमाका बारे आलोचना गर्नेहरूको कडा शब्दमा निन्दा गरे । रिलिज हुन लागेका सिनेमा कुन कस्तो होला भनेर चलचित्रकर्मीहरूले गरेको अनुमान गरेकोमा उनीहरुलाई मुर्खको संज्ञा दिए ।

आफ्नो व्यक्तित्व जो कसैलाई अन्तर्वार्ता दिँदै हिँड्ने नरहेको उनले बताए । आफ्नो औकात अन्तर्वार्ता दिँदै हिँड्ने नभएको बताए । विराजले आफू बाघ कलाकार भएको पनि बताए ।

एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्नु आफैँमा समस्या हो । हरेक व्यक्तिमा आआफ्नै क्षमता र विशेषता हुन्छन् । दीपकराज गिरी र दीपाश्री निरौलासँग कमेडीमा जति अब्बल छन् त्यो क्षमता विराज भट्टसँगै छैन । विराजसँग जति एक्सनको कला र क्षमता छ त्यो दीपक र दीपासँग छैन ।

त्यसैले आफ्नो क्षमता र विशेषता आफैँ छ हुन्छ भने किन अरुको आलोचना र निन्दा गर्नु ? जसले आफ्नै स्तर गिराउँछ । आफैलाई छुच्चो र छुद्रको पहिचान दिन्छ । त्यसैले शालीन बनौँ, अरुको निन्दा गर्न छोडौँ । सके अरुलाई सहयोग गरौँ । नसके चुप लागेर बसौँ । तर आफैँलाई तल झार्ने गरी अर्काको निन्दा नगरौँ ।

आफ्नो काम नै बोल्छ भने छुच्चो भएर अरुको आँखाको तारो किन हुनु, पर्दामा काम जति राम्रो भयो, त्यही नै जवाफ हो । त्यसमा पनि दर्शकले नै प्रत्यक्ष परोक्षा रूपमा जवाफ दिन्छन् भने चलचित्रकर्मी कि ठाउँ कूठाउँ बोलिरहनु पर्यो ? व्यक्ति शालीन र नम्र भयो भने व्यक्तित्व बढ्छ । यसलाई मनन गरे मात्रै पनि धेरै हदसम्म समस्याको समाधान हुन्छ । एकप्रति अर्कोको बैरभाव कम भएर जान्छ ।