‘पुष्पा २: द रुल’की ‘किसिक गर्ल’ श्रीलीला कार्तिक आर्यनको हिरोइन बन्दै

काठमाडौं । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पुष्पा २ः द रुल’ रिलिज भएको एक महिना बितिसक्दा पनि बक्स अफिसमा हलचल मच्चाइरहेको छ ।

अल्लु अर्जुन र रश्मिका मन्डन्ना स्टारर ‘पुष्पा २’ ले बक्स अफिसमा तहल्का मच्चाइहेको बेला यस चलचित्रमा आइटम गीत ‘किसिक’ बाट चर्चा कमाएकी अभिनेत्री श्रीलीला नयाँ उपलब्धि हासिल गर्ने तयारीमा छिन् । उनले बलिउडमा पाइला टेक्ने खबर छ ।

साउथ सिनेमामा आफ्नो पहिचान बनाइसकेकी अभिनेत्री श्रीलीलाले ‘पुष्पा २’ अघि महेश बाबुको ‘गुंटुर करम’, ‘भगवन्त केसरी’, ‘स्कन्द’ जस्ता चर्चित सिनेमाहरूमा काम गरिसकेकी छन् । उनले बलिउडमा डेब्यु गर्ने चर्चा रहेसँगै यो अवसर बलिउडका दिग्गज निर्माता करण जोहरसँग जोडिएको छ ।

धर्मा प्रोडक्सनले हालै घोषणा गरेको रोमान्टिक ड्रामा सिनेमा ‘तू मेरी मै तेरा, मै तेरा तू मेरी’ मा कार्तिक आर्यन मुख्य भूमिकामा देखिने छन् । यो चलचित्रमा श्रीलीलालाई मुख्य नायिकाको भूमिकाका लागि कुरा गरिएको बताइएको छ । धर्मा प्रोडक्सन र श्रीलीलाबीच यसबारे वार्ता जारी रहेको भारतीय सञ्चार माध्यमले खुलासा गरेका छन् ।

इन्डिया टुडेका अनुसार श्रीलीलाको स्क्रिन उपस्थिति अद्भुत रहेको र कार्तिक आर्यनसँग उनको जोडीले बलिउडमा नयाँ ताजगी ल्याउने बताइएको छ ।

अभिनेत्रीको बलिउड डेब्यु त्यस्तो नहोला तर विस्फोटक हुनसक्ने इन्डिया टुडेले उल्लेख गरेको छ । श्रीलीला र कार्तिकको जोडीलाई सँगै हेर्न दर्शकहरू निकै उत्साहित हुने अनुमान गरिएको छ ।

बलिउड प्रवेशसँगै श्रीलीला पनि आफ्नो करियरलाई नयाँ उचाइमा पुर्‍याउन उत्साहित रहेको बताइएको छ । उनको बलिउड डेब्युले दर्शकहरूलाई कति प्रभावित गर्नेछ, त्यो भने हेर्न बाँकी छ ।

‘तू मेरी मै तेरा, मै तेरा तू मेरी’ २०२५ को अन्त्यसम्ममा रिलिज हुने अपेक्षा गरिएको छ । यो चलचित्र कार्तिक आर्यनका लागि विशेष रहने अनुमान गरिएको छ, किनभने उनको अघिल्लो सिनेमा ‘भुल भुलैया ३’ ले बक्स अफिसमा ४०० करोड भारु कमाइ गरेको थियो ।