‘एक्टर: टेक वन’को ट्रेलरमा प्रदीप र राजबल्लभको नोकझोक, निश्चलको इन्ट्री

काठमाडौं । माघ १६ गते रिलिज हुने चलचित्र ‘एक्टर: टेक वन’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरले चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको देखाएको छ ।

ट्रेलरमा चलचित्रमा मुख्य कलाकार प्रदीप खड्कालाई महत्वकांक्षी पात्रका रुपमा देखाइएको छ । उनको बाटोमा अवरोध राजबल्लभ कोइरालाले खडा गरेका छन् । यसकै वरिपरि चलचित्रको कथा घुम्ने अनुमान लगाउन सकिन्छ ।

राजबल्लभ प्रदीपको बाटोमा अवरोध खडा गर्ने पात्रका रुपमा देखिएका छन् । प्रदीप महत्वकांक्षी पात्र र लभरब्वाईका रुपमा चित्रण गरिएको पात्रका रुपमा छन् ।

निर्माणपक्षले ट्रेलरमार्फत दर्शकलाई नयाँ जानकारी दिएको छ । त्यो हो निश्चल बस्नेतको इन्ट्री । निर्देशक तथा कलाकार निश्चल बस्नेतको इन्ट्री भए पनि सस्पेन्स छ । उनको इन्ट्रीसँगै ट्रलेर सकिन्छ ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइरालालगायत फिचर्ड छन् ।

चलचित्र ‘एक्टर’लाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालको छ ।

प्रदीप, राजबल्लभ, आना र दिव्यासँगै चलचित्रमा दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

सिनेमा अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो । निर्माता थमन कुमार भण्डारी, सह–निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको यो चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले संगीत दिएका छन् । शिशिर खाती तथा किरण थापाले कोरियोग्राफी गरेका छन् । पोस्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान रहेका छन् ।

द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङले गरेका छन् ।