‘बाटुलो जुन’मा अनमोलको जोडी ‘प्रिन्सी र प्रिज्मा’मध्ये एक हुन् ?

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘बाटुलो जुन’को केही सिन अर्को हप्ताबाट छायांकन हुँदै छ । मनसुन अथवा पानी परेको सिन सिनेमामा रहेका कारण अबको एक सातामा एक हप्ता यो सिनेमाको छायांकन हुनेछ ।

छायांकन नौबिसेमा हुनेछ । यसका लागि सम्पूर्ण तयारी भइसकेको छ । बाँकी छायांकन अनमोल केसीले ‘जेरी अनटप’को सुटिङ सकेपछि हुनेछ ।

भुवन केसीको निर्देशन रहने चलचित्रमा अनमोल केसी मुख्य भूमिकामा रहनेछन् । अनमोल केसीसँग कसले स्क्रिन सेयर गर्दैछ अथवा अनमोलसँग अनस्क्रिन रोमान्स कसले गर्दैछ ? यसबारे निर्माणपक्षले हालसम्म कुनै पनि जानकारी दिएको छैन । निर्माण युनिटले पनि सूचना चुहाएको छैन ।

तर, स्रोतबाट प्राप्त जानकारी अनुसार अनमोलसँग ‘बाटुलो जुन’मा प्रिन्सी र प्रिज्मा खतिवडामध्ये एकले काम गर्ने कुरा चलिरहेको छ । म्युजिक भिडियोमा रुचाइएका यी दुई मध्ये एकसँग अनमोलको जोडी बाँध्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

“अहिलेसम्म प्रिज्मा र प्रिन्सीमध्ये एकजनाले काम गर्ने कुरा भएको छ । अन्तिम समयमा आएर कुरा परिवर्तन भएन भने यही नै फाइनल हो,” स्रोतले भन्यो, “अरुसँग काम गर्ने कि भन्ने पनि सुभेच्छुकबाट कुरा नआएको होइन । त्यसैले अन्तिम समयमा आएर परिवर्तन भयो भने बेग्लै कुरा हो । तर, अहिलेसम्मको कुरा यही हो ।”

‘सनराइज पिक्चर्स प्रालि’को ब्यानरमा निर्माण हुने यो चलचित्रलाई अभिनेता भुवन केसीको निर्देशन गर्ने भएका छन् । भुवनले चलचित्र ‘ड्रिम्स’पछि निर्देशन गर्न लागेको यो दोस्रो सिनेमा हो ।

‘बाटुलो जुन’ले नेपाली ग्रामीण समाजको कथा भन्नेछ ।

चलचित्रको नाम निर्देशक भुवन केसीले संगीतकार एसडी योगीको गीत ‘बाटुलो जुन’बाट लिएको बताइएको छ ।

अनमोल अर्को प्रोजेक्ट ‘जेरी अनटप’को गीत छायांकन सकिएपछि यो चलचित्र ‘बाटुलो जुन’को छायांकन भदौमा हुनेछ ।